सुदूरपश्चिम सरकारले खर्च गर्न सकेन विनियोजित बजेट, २९ अर्बमा ४ अर्ब खर्च

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि विनियोजित बजेट खर्च कमजोर रहेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेश सरकारले कुल २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार अर्थात् विनियोजित बजेट मध्ये ६ महिनाको अवधिमा ४ अर्ब ६१ करोड १६ लाख रुपैयाँ खर्च भएको छ । जुन कुल विनियोजनको १५.७६ प्रतिशत हो । आर्थिक वर्ष २०७९/८० मा विनियोजन भएको बजेटको ६५.४८ प्रतिशत खर्च भएको थियो प्रदेश लेखा नियन्त्रक कार्यालय, आर्थिक मामिला मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदन अनुरुप चालु आर्थिक वर्ष २०८०/८१ मा चालु खर्चतर्फ विनियोजन भएको ११ अर्ब ९४ करोड रुपैयाँ मध्ये समीक्षा अवधिसम्ममा २ अर्व ५६ करोड रुपैयाँ खर्च भएको छ जुन विनियोजन भएको चालु खर्चको २१.४४ प्रतिशत हो । गत वर्षको सोही अवधिमा यस्तो खर्च २१.२९ प्रतिशत रहेको थियो । त्यसैगरी, पुँजीगत खर्चतर्फ विनियोजन भएको १७ अर्व २ करोड रुपैयाँ मध्ये २ अर्व ४ करोड रुपैयाँ खर्च भएको छ जुन विनियोजन भएको पुँजीगत खर्चको ११.९९ प्रतिशत हो । गत वर्षको सोही अवधिमा समेत यस्तो खर्च १०.९१ प्रतिशत रहेको थियो ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक स्रोत र राजश्व बाँडफाँड गरी कुल राजश्व १४ अर्व ८४ करोड ४० लाख रुपैयाँ अनुमान गरेकोमा कुल ८ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ राजश्व परिचालन गरेको छ जुन कुल राजश्व अनुमानको ५८.६९ प्रतिशत हो । चालु आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम सरकारले संघीय सरकारवाट समानीकरण, सशर्त, विशेष र समपुरक गरी कुल १४ अर्ब ४२ करोड १९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने अनुमान गरेकोमा समीक्षा अवधिसम्म कुल ३ अर्ब ५६ करोड १ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । प्राप्त भएको अनुदान रकममध्ये समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानको अंश क्रमशः २५ प्रतिशत, २३.९९ प्रतिशत र २५ ÷ २५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार