सुदुरपश्चिमको वित्तीय अवस्था : निक्षेप १ खर्ब ३६ अर्ब पुग्दा कर्जा प्रवाह १ खर्ब ४० अर्ब पुग्यो

काठमाडौं ।  राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशमा  कर्जा प्रवाह बढ्दा निक्षेप घटेको वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को ले दिएको अधिकार प्रयोग गरी प्रदेशगत अर्थात् सुदूरपश्चिमको आर्थिक गतिविधिको अध्ययन गरी अर्ध वार्षिक प्रतिवेदन २०८०÷८१ मार्फत् उक्त कुरा व्यक्त गरेको हो ।

प्रतिवेदन अनुसार २०८० पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १.९१ प्रतिशतले बढ्न गई १ खर्व ३६ अर्ब ८३ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४२ प्रतिशतले ह्रास आएको थियो । २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०८० असार मसान्तको तुलनामा ७.२८ प्रतिशतले घटेर १ खर्ब ४० अर्ब ६६ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ६.२७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.७१ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.३० प्रतिशत रहेको छ । त्यसैगरी, समीक्षा अवधिसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ७०.३२ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् ०.६६ प्रतिशत प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३२६, विकास बैंकका ५२, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४६२ गरी जम्मा ८४६ शाखा सञ्चालनमा छन् । यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३५८ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २८ शाखा सञ्चालनमा छन् । गत वर्ष सोही अवधिमा यस प्रदेशमा वाणिज्य बैंकका ३२७, विकास बैंकका ५२, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४५७ गरी जम्मा ८४२ वटा बैंक तथा वित्तीय संस्थाका शाखाहरु सञ्चालनमा रहेका समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, प्रतिवेदन अनुसार २०८० पुस मसान्तसम्म निक्षेपतर्फ कुल खाता संख्या १३.७७ प्रतिशतले बढ्न गई ३६ लाख ३६ हजार ५ सय ११ रुपैयाँ पुगेको छ भने ऋणतर्फ कुल खाता संख्या गत पुस मसान्तको तुलनामा १८.६३ प्रतिशतले घट्न गई ८१ हजार ६ सय ७९ पुगेको देखिन्छ । २०८० पुसमसान्तसम्म विपन्न वर्गको कर्जा २०८० असारमसान्तको तुलनामा ५.३२ प्रतिशतले घट्न गई ११ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४.३७ प्रतिशतले घटेको थियो । यसैगरी, २०८० पुस मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तको तुलनामा ७.५४ प्रतिशतले बढ्न गई १० अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा १३.२८ प्रतिशतले वृद्धि भएको थियो । २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल सेवा क्षेत्र कर्जामध्ये कैलाली जिल्लाको अंश ६८.५४ प्रतिशत, कञ्चनपुर जिल्लाको अंश १९.१८ प्रतिशत, डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी, तथा बाजुरा जिल्लाको अंश क्रमशः ३.३१ प्रतिशत, १.८४ प्रतिशत, २.११ प्रतिशत, १.५३ प्रतिशत, १.४५ प्रतिशत, १.२८ प्रतिशत र ०.७६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कृषि कर्जा
२०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा ८.०७ प्रतिशतले वृद्धि भई १५ अर्ब ४० करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवध यस्तो कर्जा २०.८३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन ÷ पशु बधशालामा २०.३१ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम ०.००१ प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको छ ।
समीक्षा अवधिमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०.९५ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६६.३० प्रतिशत, कञ्चनपुरको २०.८७ प्रतिशत, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः ३.४६ प्रतिशत, २.१४ प्रतिशत, १.८३ प्रतिशत, १.७१ प्रतिशत, १.५२ प्रतिशत, १.४० प्रतिशत र ० ७७ प्रतिशत रहेको छ ।

सेवा क्षेत्र कर्जा
२०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा ७.४४ प्रतिशतले घटेर १ खर्ब ३ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२८ प्रतिशतले घटेको थियो । कुल प्रवाहित कर्जामध्ये सेवा क्षेत्रमा गएको कर्जाको अंश ७१.११ प्रतिशत रहेको छ । समीक्षा अवधिमा कुल सेवा क्षेत्र कर्जामध्ये थोक तथा खुद्रा विक्रेतासम्बन्धी व्यवसायमा ४३.५३ प्रतिशत उपभोग्य कर्जामा २८.०१ प्रतिशत, अन्य व्यवसायमा प्रवाहित कर्जा ९.०६ प्रतिशत, पर्यटनमा ३.१४, यातायात भण्डारण र संचारमा ५.०६ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पतिमा १.९३ प्रतिशत, शिक्षा क्षेत्रमा ३.४४ प्रतिशत, रियल स्टेटमा २.७७ प्रतिशत, अन्य सेवा व्यवसायमा १.४८ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्यमा १.५७ प्रतिशत अंश रहेको छ ।

औद्योगिक कर्जा
२०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा ६.१८ प्रतिशतले घट्न गई २५ अर्ब २२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १३.४७ प्रतिशतले बढेको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७९४ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्ममा कुल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १०.८७ प्रतिशतले वृद्धि भएको छ भने गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा सबैभन्दा बढी १०.०९ प्रतिशतले हास आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार