सरकारी ऋणपत्रका बजार निर्माता तथा बिक्री एजेन्ट राष्ट्र बैंकद्धारा खारेज

काठमाडौं । राष्ट्र बैंकले सरकारी ऋणपत्रका बजार निर्माता तथा बिक्री एजेन्टहरु खारेज गरेको छ । राष्ट्र बैंकले २०८१ असार १ गतेदेखि सरकारी ऋणपत्रका बजार निर्माता तथा बिक्री एजेन्टहरु खारेज गरेको हो ।

राष्ट्र बैंकले सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार करोबार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेका हुदाँ ऋणपत्रका बजार निर्माता तथा बिक्री एजेन्टहरु खारेज गरेको जानकारी दिएको छ ।
२०८१ असार १ गतेदेखि सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार करोबार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेको सन्दर्भमा यसअघि राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरिएको हो, राष्ट्र बैंकले भनेको छ ।

नेपाल सरकारले आन्तरिक ऋण परिचालन गर्न सरकारी ऋणपत्र जारी गर्ने गर्छ । सरकार मातहत रहेका राष्ट्र बैंकले मुख्यतया ४ प्रकारका ऋणपत्र जारी गर्दछ । ती ऋणपत्रहरूः ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र हुन् ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् ।

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्र ५ वर्ष अवधिको रहेको छ ।
सरकारी ऋणपत्र बजार योग्य उपकरण हो जसमा लगानीकर्ताले ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित ब्याज प्राप्त हुने गरी लगानी गर्दछन् । देश विकासका लागि सरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमको ऋणपत्रहरु जारी गर्ने गर्दछ ।

मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी तोकी नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र ‘वैदेशिक रोजगार बचतपत्र’ हो । यो बचतपत्रको अवधि ५ वर्षको छ । पछिल्लो समय यी सम्पूर्ण कामहरु सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्दै आएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार