८ कम्पनीले ३० अर्ब ५० करोडको फण्ड जारी गर्ने स्वीकृति पाए, कुनको कति?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आठ कम्पनीलाई विशिष्टीकृत लगानी कोष (एसआईएफ) जारी गर्ने स्वीकृति प्रदान गरेको छ। नेपालमा विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत नियामक सेबोनले आठ वटा कोष व्यवस्थापकलाई कोष व्यवस्थापनको स्वीकृति प्रदान गरेको हो। हालसम्म सेबोनबाट १२ वटा कोष व्यवस्थापकले कोष व्यवस्थापनको अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेका छन्।

जस अन्तर्गत सेबोनले अवसर इक्विटी लिमिटेड, अल्फा प्लस भेन्चर्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईएमबि एस क्यापिटल लिमिटेड, रिलायबल भेन्चर क्यापिटल लिमिटेड र नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडलाई कोष व्यवस्थापनको लागि स्वीकृति प्रदान गरेको हो।

सबैभन्दा ठूलो कोष व्यवस्थापनको जिम्मेवारी एनआईएमबि एस क्यापिटलले प्राप्त गरेको छ। एनआईएमबि एस क्यापिटलले १० अर्ब रुपैयाँ बराबरको एनआईबिल एक्विटी पार्टनर्स कोष व्यवस्थापनको अधिकार प्राप्त गरेको छ। कम्पनीले २०८० भदौ ११ मा प्राप्त गरेको एनआईबिल एक्विटी पार्टनर्स कोषको अवधि १५ वर्ष रहेको छ।

सबैभन्दा कम मूल्यको कोष व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटलले पाएको छ। प्रभु क्यापिटलले ५० करोड रुपैयाँ बराबरको प्रभु डायनामिक प्राइभेट इक्विटी फण्ड–१ कोष व्यवस्थापन गर्न २०८० असार ७ गते अनुमति प्राप्त गरेको छ। यस कोषको अवधिमा १० वर्ष रहेको छ।

अवसर इक्विटीले ५ अर्ब रुपैयाँको अवसर इक्विटी डाइभर्सिफाइड फण्ड व्यवस्थापन गर्न २०७९ पुसमा अनुमति प्राप्त गरेको छ। यस कोषको अवधिमा १० वर्ष रहेको छ।

अल्फा प्लस भेन्चर्सले दुई अर्ब रुपैयाँको अल्फा प्लस भिजन फण्ड १० वर्षको लागि व्यवस्थापन गर्न २०८० जेठ १६ गते अनुमति प्राप्त गरेको हो।

आध्यान्त फण्ड म्यानेजमेन्टले ३ अर्ब रुपैयाँको नेपाल अपरच्युनिटी फण्ड–१ कोष व्यवस्थापन गर्न असार २० गते स्वीकृति प्राप्त गरेको छ। यस कोषको अवधिमा पनि १० वर्ष रहेको छ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले १ अर्ब रुपैयाँको लक्ष्मी सस्टनेवल इनर्जी फण्ड १० वर्षको लागि व्यवस्थापन गर्न २०८० भदौ ८ गते नियामकबाट अनुमति प्राप्त गरेको छ।

रिलायबल भेन्चर क्यापिटलले २ अर्ब रुपैयाँको रिलायबल प्राइभेट इक्विटी फण्ड १० वर्षका लागि व्यवस्थापन गर्न २०८० भदौ २९ गते सेबोनबाट स्वीकृति प्राप्त गरेको छ।

नेशनल फण्ड म्यानेजमेन्टले ७ अर्ब रुपैयाँको नेशनल इक्विटी फण्ड–१ कोष व्यवस्थापन गर्न २०८० असोज ४ गते अनुमति प्राप्त गरेको छ। यस कोषको अवधि पनि १० वर्षको रहेको छ।

नियामक सेबोनले निश्चित अवधिका लागि कोष व्यवस्थापकलाई कोष व्यवस्थापनको जिम्मेवारी दिएको छ। सेबोनबाट कोष व्यवस्थापनको स्वीकृति प्राप्त गरेका कोष व्यवस्थापकले दुई वर्ष भित्रमा कबुल गरेको कोष संकलन गर्नु पर्छ। उक्त कोष तोकिएको अवधि भित्रमा लगानी गर्नु पर्ने हुन्छ। उक्त समय प्रयाप्त नभएको खण्डमा नियामकको स्वीकृतिमा थप दुई वर्ष कोष व्यवस्थापनको अवधि नवीकरण गर्न सकिन्छ।

कोष व्यवस्थापनको अनुमति पाएका यी कम्पनीहरुले नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरुमा लगानी गर्न सक्छन्। यस्ता कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता, नेपाली नागरिक तथा गैरआवासीय नेपालीले लगानी रहन्छ । जसबाट स्वदेशी स्रोत परिचालन भई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार