पान लिई कारोबार गर्न व्यवसायीहरुलाई राजस्व विभागको आग्रह

काठमाडौं ।  आन्तरिक राजस्व विभागले ढुवानी साधनका धनीहरुलाई स्थायी लेखा नम्बर (पान) लिई कारोबार गर्न आग्रह गरेको छ । विभागले आज (मंगलबार) एक सूचना प्रकाशन गर्दै यस्तो आग्रह गरेको हो ।

विभागले ढुवानीका साधन (ट्रक, टिप्पर, ट्र्याक्टर आदि) का केही व्यवसायी र ढुवानी साधन धनी स्वयंले हालसम्म पनि पान नलिएको पाइएकाले यथासिघ्र स्थायी लेखा नम्बर लिई कारोबार गर्न आग्रह गरेको छ ।

आयकर नियमावली, २०५९ को नियम २३ मा निर्धारणयोग्य आय आर्जन गर्न चाहने व्यक्ति, विभागले पान लिनु पर्ने भनी तोकेको वा आयकर ऐन, २०५८ को परिच्छेद-१७ अन्तर्गत करकट्टी गर्नु पर्ने जुनसुकै व्यक्तिले त्यस्ता आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै पान लिनु पर्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ ।

उल्लिखित कानूनी व्यवस्थाको बर्खिलाप गरी कारोबार गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने विभागले सूचनामार्फत जानकारी दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार