काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने गरी मौद्रिक नीति आउनु पर्ने बताएका छन्। महासंघले मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया गभर्नर महाप्रसाद अधिकारी र नेपाल राष्ट्र बैंकका उच्च तहका अधिकारी उपस्थित कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
‘सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने तर्फ पनि सोच्नुपर्ने हुन्छ,’ अध्यक्ष ढकालले भने, ‘यसले बजार चलायमान बनाउन मदत पुग्छ ।’
बैंक र व्यवसायी एउटै समस्यामा छौ । बैंक वित्तिय संस्थामा पनि समस्या देखिने हो कि भन्ने चर्चा हुन थालेको छ । खराब कर्जा अनुपात बढिरहेको छ । वित्तिय क्षेत्रलाई जोगाउनुपर्ने मात्र हैन अघि बढ्न दिनुपर्ने उनको भनाई छ। बढन पनि दिइनुपर्छ ।
‘हामी विगत दुइ बर्षयता निक्कै जटिल समस्यासंग जुधिरहेका छौ । अर्थतन्त्रमा संकुचन छ भने सर्वसाधारणमा निराशा व्याप्त छ । मुद्रास्फीति ४.४० प्रतिशत छ । यो कम हुँदै गएको छ । तर अघिल्ला तीन वर्षमा करिब ७ प्रतिशत माथिको मुल्यवृद्धि भएको थियो । समग्रमा कोभिडपछि बजार भाउ निक्कै बढेको छ । तर सर्वसाधारणको क्रयशक्ति सोही अनुसार बढन सकेको छैन्,’ ढकालले भने।
उद्यम व्यवसाय चल्न नसकेका कारण आम्दानी घटेको छ । नयाँ लगानी हुन नसक्दा रोजगारीका नयाँ अवसर पनि खुल्न सकेका छैनन् ।
विप्रेषण आप्रवाह १० महिनामै झण्डै १२ खर्ब पुगेको छ । जुन हालसम्मकै उच्च छ । यसरी आएको रकम बैंक वित्तिय संस्थामा जम्मा भएको छ । यसले नयाँ माग सिर्जना गर्न नसक्नु हामीले सोच्नुपर्ने बिषय हो ।
कोभिड अघि मासिक औसत १ खर्ब ६० अर्बको आयात भएकोमा अहिले एक खर्ब ३० अर्ब हाराहारी छ । आयात घटनु विदेशी विनिमय संचितिका लागि सुखद भएपनि यसले बजार चलायमान हुन नसकेको देखाएको छ ।
औद्योगिक कच्चा पदार्थ र मध्यस्थ वस्तुहरुको आयात पनि उत्साहजनक छैन । यसको अर्थ हो औद्योगिक गतिविधि संकुचित भैरहेका छन । उत्पादनमूलक उद्योगहरु ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेका छन् ।
पर्यटन आगामन बढेको छ । तर विदेशिने विद्यार्थी र घुम्न जानेहरुबाट रकम पनि वाहिरिएको छ । तथापी विदेशी विनिमय संचिति साढे १९ खर्ब हाराहारी छ । यसले हरेक महिना रेकर्ड बनाइरहेको छ । साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न यो रकम पर्याप्त छ । जबकि यस बर्षको मौद्रिक नीतिको लक्ष्य ७ महिना थियो । सोधनान्तर स्थितिमात्र नभइ चालु खाता पनि घनात्मक छ ।
संचिति सबल हुनु राम्रो हो तर अत्यधिक संचिति हुनुले पनि आर्थिक गतिविधि सुस्ताएको संकेत गर्दछ । यस परिप्रेक्षमा हामीले बजेटमा पनि सुझाव दियौ । हाम्रा केहि माग सम्बोधन भएपनि बजार चलायमान बनाउने नीति आउन सकेनन ।
यसपछिको हाम्रो अपेक्षा मौद्रिक नीतिमा हो । यसैले हामी आज भेला भएका छौ । माथिका केहि तथ्यांकले मैले उदाहरणमात्रै दिन खोजेको हुँ । हामी सबै अर्थतन्त्रबारे जानकार नै छौ । अब भने धेरै ढिला भैसक्यो सुधारका उपाय अवलम्बन गरेनौ भने निराशा थप बढनेछ ।
यस्तो अवस्थामा के गर्ने त ? यो प्रश्न स्वभाविक हो । यसबारे केन्द्रिय बैंक जानकार छ । तर पनि हामी केहि सुझाव यहाँ पेश गर्न चाहन्छौ ।
पहिलो उत्पादनमूलक उद्योगको क्षमता बढाउनुपर्छ । ब्याजदर अन्यभन्दा कम गर्ने बिषय पहिले पनि आएको थियो । यसको कार्यान्वयनका बारेमा नीतिले बोल्नुपर्छ ।
मागमा आएको संकुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएको छ भने त्यसलाई सम्बोधन गरिनुपर्छ । लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने हाम्रो माग हो ।
पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र हो । पर्यटन पुर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्ने बिषयमा मौद्रिक नीतिले केहि सोच्नुपर्छ । यसमा कर्जा प्रवाह सहज र सुलभ गरिनु उपयुक्त हुन्छ ।
गत वर्षभन्दा कर्जाको व्याजदर घटेतापनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयां लगानीका योजना समेत स्थगन भैरहेका छन् । पुराना लगानीकर्ताले लगान बढाउने र नया व्यवसायी नया लगानी गर्न सकेका छैनन ।
बजारमा माग सिर्जना गर्न गाउँ र साना सहरहरुमा सानो कर्जा सुविधा विस्तार गर्न बैंक वित्तिय संस्थाहरुलाई प्रोत्साहन गरिनुपर्छ । सहकारी र लघुवित्तमा आएको समस्याले अहिले रकम प्रवाह हुन सकेको छैन । यो बिषयलाई पनि नीतिले समेटनुपर्छ ।
अहिलेको अवस्थामा उद्योग व्यवसाय वन्द गर्नुपरेमा साँवा ब्याजको किस्ता तिर्ने प्रतिवद्धता भएका उद्योगहरु वन्द गर्न पाउने व्यवस्था गरि सहज कर्जा राफसाफको व्यवस्था गर्नुपर्छ ।
यसैगरि कर्जा चुक्ता गरिसकेपछि पनि ऋणीलाई लामो समयसम्म कालो सूचिमा राख्ने व्यवस्थाले पनि व्यवसायीलाई निरुत्साहित गरेको छ । यसतर्फ पनि म गभर्नर ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।
गभर्नर ज्यू र उच्च पदस्थ अधिकारीज्यूहरु सबै व्यवसायीको नियत खराब होइन । परिस्थितिका कारण समस्यामा पर्ने धेरै छन । नीति निर्माता पनि सुधारमै लागि रहनु भएको छ । तर नतिजा आउन सकेको छैन । हामी सबै एकै डुंगामा छौ ।
अब हामीले समिक्षा गर्नुपर्ने बेला भैसकेको छ । विगतमा फरक परिस्थितिमा ल्याइएका नीतिहरु अहिलेको अवस्थामा सान्दर्भिक भए नभएको मुल्यांकन गरिनुपर्छ । आयात निरुत्साहित गर्ने, कर्जा नियन्त्रण गर्ने नीतिले असर अहिले सम्म कायम छ भने सुधार गर्नुपर्छ । चालु पुँजी कर्जा सम्बन्धि व्यवस्था अहिलेको परिस्थितिमा के कति र कति मात्रामा आवश्यक छ यसबारे पनि खुला छलफल हुनु आवश्यक छ।