लेखाको इन्ट्रि पछि रिलयान्स स्पिनिङको आईपीओ रोकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आईपीओ जारी गर्ने निर्णयबाट पछि हटेको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले मंगलबार रिलायन्स स्पिनिङ मिल्सलाई कुन आधारमा बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिएको भन्दै पाँच बुँदे स्पष्टिकरण माग गरेसँगै नियामय सेबोनले निष्कासन प्रक्रिया रोकेको हो।

लेखा समितिको पत्र प्राप्त भएसँगै सेबोनका कार्यबाहक अध्यक्ष नरेन्द्रकुमार रानाले रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्न दिएको स्वीकृति स्थगन गरेका हुन्। ‘ रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्न दिइएको स्वीकृति तत्कालका लागि रोक्ने निर्णय भएको छ,’ सेबोन स्रोतले भन्यो।

कम्पनीले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई १ लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको थियो। कम्पनीले ८२०.८० रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति पाएसँगै यसमा आर्थिक चलखेल भएको भन्दै चौतर्फी विरोध भएको छ। सर्वत्र चासोको बिच यसमा मंगलबार लेखा समितिको पनि इन्ट्रि भएको थियो।

लेखा समितिले बैठकले रिलायन्स स्पिनिङ मिल्स कुन आधारमा र किन बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिइयो सेबोनलाई पाँच प्रश्न गर्दै सात दिन भित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ।

लेखा समितिले सोधेको स्पष्टीकरण

उक्त कम्पनीको आधार मूल्य के आधारमा तय गरिएको हो ? बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमा आईपीओ ल्याउँदा अर्थात गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सिमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा Manipulation भएको अनुमान गर्न किन नसकिने ?

सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीको तर्फबाट जारी गरिएको आहान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९ ।८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ आर्थिक वर्ष २०८०1८१ मा ३२.९० रुपैयाँ २०८१।८२ मा ३२.८९ र २०८२।८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०।८१ को चैत्रसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो सोको स्पष्ट जानकारी उपलब्ध गराइदिनुहुन ।

उक्त कम्पनीमा बुकविल्डिङका लागि विड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थं वाझिएको छ कि छैन ? बुक विल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सोको समेत विस्तृत विवरण उपलब्ध गराइदिनुहुन । कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक फरक प्रतिसेयर आम्दानी ( हरेक आ.व. मा घट्दै गएको) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र वोर्डको धारणा के हो ?

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार