साढे २ करोडको लागतमा १०८ फिट अग्लो महादेव मूर्ति निर्माण

काठमाडौं । लमजुङस्थित सुन्दरबजार नगरपालिका वडा नम्बर ७ पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न भएको छ । कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मस्र्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि यतिका अग्लो महोदवको मूर्ति निर्माण गरेको हो ।

समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित सो परिसरमा भगवान गणेश, विष्णु, शिवको बहान साँडे (बसाह)को मूर्तिसमेत निर्माण गरिएको बताए । काठमाडौं र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको उनको भनाइ छ । त्यसका लागि दुई करोड ५० लाख खर्च भएको उनले जानकारी दिए ।

मूर्तिमा रङरोगन सम्पन्न भएको छ । सोही परिसरमा १०८ शिवलिंग र १०८ धारा निर्माण गर्न लागिएको छ । धाराका लागि पर्खाल सम्पन्न भइसकेको छ ।

राइनास नगरपालिका वडा नम्बर ९ मोहोरियाकोटबाट करिब छ किलोमिटर टाढाबाट धाराका लागि पानी ल्याउन लागिएको छ । हालसम्म दुई किलोमिटरमा पाइप विच्छ्याउने काम सम्पन्न भएको छ भने धारा निर्माणस्थल नजिकै एक लाख लिटर भन्दाबढी पानी अट्ने एउटा पानी ट्यांकी निर्माण सम्पन्न भएको छ ।

समितिको नाममा रहेको एघार रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । धारा तथा शिवलिंग व्यक्तिको नाम र पितृहरुको नाम राखिने र यसका लागि न्यूनतम ११ हजार एक सय ११ रूपैयाँ तिर्नुपर्ने समितिले जनाएको छ ।

बाँकी काम असोज महिनाभित्र सकिने र आगामी ठूलो एकादशीका दिन उद्घाटन गर्ने तयारी भइरहेको छ ।

उनका अनुसार त्यस्तै, महादेव मूर्ति स्थापनका लागि हालसम्म १४ लाख बढी चन्दा संकलन भएको छ । यहाँ मस्र्याङ्दी नदीमा स्नायु गर्न, सतबीज छर्न, ठूलो एकादशी पर्वमा लाखौं भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् ।

डुम्रे–बेंसीसहर सडक नजिकै तथा लमजुङ/तनहुँको सिमानामा पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँका व्यापार व्यवसायमासमेत टेवा पुग्ने स्थानीयको भनाइ छ । यस क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपमहाडी लोकमार्गको छेउमै रहेको छ ।

महादेवको मूर्ति तथा एक सय आठ धारा र शिवलिंग निर्माणले धार्मिक रुपमा मात्र नभइ पर्यटकीय गन्तवयका रुपमा विकास हुने सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार