काठमाडौं । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर २.२ प्रतिशत हुने अनुमान गरिएको छ । यसो हुनमा भने गहुँ,आलू, नगदे बाली तथा फलफूल उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमन कारक मानिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मौसमी प्रभाव समायोजन नगरिएको त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमासिक अवधिको आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासिक अवधिमा २.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा गहुँ,आलू, नगदे बाली तथा फलफूल उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेका छन्। यसका अतिरिक्त निर्माण, उद्योग, व्यापार, खानी तथा उत्खनन बाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ रहेको हो ।
मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासिक अवधिको तुलनामा आर्थिक वर्ष २०८०÷८१ को तेस्रो अवधिमा ०.८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासिक अवधिको तुलनामा तेस्रो त्रैमासिक अवधिमा कुल १८ ओटामध्ये छ ओटा औद्योगिक क्षेत्रहरूमा आएको संकुचनको प्रभाव समग्र कुल गार्हस्थ्य उत्पादनमा देखिएका कारण अर्थतन्त्रमा सामान्य वृद्धि देखिएको हो।
आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलनागर्दा प्रस्तुत गरिएका अर्थतन्त्रका कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १४ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । जसमध्ये बिद्युत तथा ग्याँस उद्योगसँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै ( ३७.१%) रहेको छ भने आवास तथा भोजन सेवाको १९.१ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ । यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रले १५.० प्रतिशत वृद्धिदर कायम गरेको छ ।
त्यसैगरी अन्य सेवाका क्रियाकलापहरु ( कला, मनोरन्जन लगायतका क्रियाकलापहरु) को वृद्धिदर (८.३%) भएको देखिन्छ । यसका साथै निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा विमा सेवाको वृद्धिदर ( ६.१% ) भएको देखिन्छ । अर्थतन्त्रमा सबैभन्दा बढी ः हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ। गहुँ,आलू, नगदे बाली तथा फलफूल उत्पादनमा भएको वृद्धिले यसको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको हो । अर्को तर्फ यो त्रैमासिकमा निर्माण, खानी तथा उत्खनन, ब्यापार तथा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक रहन गएको छ । प्रस्तुत गरिएका १८ ओटा औद्योगिक क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर र समग्र अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर तालिका १ मा दिइएको छ। विगत चार वटा आर्थिक वर्षहरूको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन वृद्धिदरलाई चित्र १ मा प्रस्तुत गरिएको छ । जसअनुसार कहिले बढ्ने, कहिले घट्ने गरेर नेपालको अर्थतन्त्र वृद्धिले एउटै दिशा तय गरिरहेको देखिदैन ।
त्यस्तै, मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा आर्थिक वर्ष (२०८०÷८१) को दोस्रो त्रैमासिक अवधि ( कार्तिक, मंसिर र पुष) को तुलनामा आर्थिक वर्ष (२०८०÷८१) को तेस्रो त्रैमासिक अवधि (माघ, फाल्गुन र चैत्र) को प्रारम्भिक अनुमान अनुसार प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये १२ ओटाको उत्पादन बढेको देखिन्छ भने ६ ओटा उद्योगको उत्पादनमा घटेको देखिन्छ । वित्तीय तथा विमा सेवाको सबैभन्दा बढी ८.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । यो क्षेत्रलाई पछ्याउँदै कला, मनोरन्जन लगायतका क्रियाकलापहरुको वृद्धिदर २.५ प्रतिशत रहने अनुमान गरिएको छ । यो अवधिमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ऋणात्मक ( ०.४ प्रतिशत) हुने र समग्र अर्थतन्त्रको वृद्धिदर ०.८ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । ऋणात्मक वृद्धि हुने कुल छ ओटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै खानी तथा उत्खननको ऋणात्मक वृद्धिदर (–६.६%) रहेको छ। दोस्रो त्रैमासिक अवधिको तुलनामा तेस्रो त्रैमासिक अवधिमा निर्माणका कार्यले गति लिन नसक्दा यस क्षेत्रको वृद्धि रहन गएको हो ।