आइबिएमको विद्यालय कार्यक्रम नेपालमा, प्लस टुका विद्यार्थी उद्यमी बन्ने

काठमाडौं । एक जमाना थियो विद्यालयको कालोपाटीमा खरीले लेखेर विद्यार्थी पढाइन्थ्यो। विद्यार्थीको हातमा किताब, पाटी र खरीमात्रै हुन्थे। तर, जमाना फेरिएको छ। विश्व परम्परागत शिक्षा प्रणालीबाट फड्को मार्दै आधुनिक शिक्षा प्रणालीमा प्रवेश गरेसँगै डिजिटल शिक्षाको प्रयोग बढेको छ। बच्चैबाट विद्यार्थीहरुको हात–हातमा मोबाइल हुन थालेको छ, ल्यापटप र कम्प्युटर चलाउन थालेका छन्। तैपनि नेपालको शिक्षा प्रणालीले समयको यो बेगलाई राम्रोसँग समात्न सकेको छैन। विद्यालयमा प्रविधिबारे आवश्यक सिकाई नहुँदा विद्यार्थीहरु प्लस टु पुगिसक्दासमेत “स्मार्ट “ बन्न सकेका छैनन्।साथै सुचना प्रविधि क्षेत्रमा आइरहेका नविनतम प्रविधिहरुले ल्याइरहेका चुनौति सामना गर्न र अवसरको सदुपयोग गर्न तयार पनि छैनन्। प्लस टु पछि आइटी शिक्षा रोज्ने विद्यार्थीहरु समेत एकैपटक ज्ञानको भारी बोक्न बाध्य छन्। यिनै कुराहरुलाई मध्यनजर गर्दै विश्वव्यापी रुपमा प्रविधिमा नेतृत्व गरिरहेको आइबिएम कम्पनीले तयार पारेको विश्वस्तरको विद्यालय कार्यक्रम नेपालमा पनि ल्याइएको छ। भारतको चर्चित शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ–लर्निङले कक्षा ५ देखि १२ कक्षाका विद्यार्थीहरुका लागि तयार गरिएको आइबिएमको यो कार्यक्रम नेपालमा लिएर आएको हो। आर्टिफिसियल इन्टेलिजेन्स (र मेशिन लर्निङ), साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा नविनतम सूचना प्रविधिका क्षेत्रहरु समेटेर नेपाल लगायत दक्षिण एसियामै पहिलोपटक सुरु गरिएको यो कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्सहरु समावेश छन्।

यो अत्याधुनिक तथा समय सापेक्ष कोर्सको डिजाइन तथा निर्माण गरेको आइबिएम प्रविधि कम्पनीहरु मध्य सवैभन्दा बढी (एक लाख २२ हजार भन्दा बढी) यूएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको कम्पनी हो। सन् १९८१ मा विश्वमै पहिलो मध्यको पर्सनल कम्प्युटर बजारमा ल्याएको आइबिएमले संसारको सबैभन्दा उच्च गतिका सुपर कम्प्युटरहरु निर्माण गरेको छ। एआइ र मेशिन लर्निङ्ग लक्षित वाट्सन सुपर कम्प्युटर निर्माण गरेर एआइ क्षेत्रमा नेतृत्व गरेको आइबिएम हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका एटिएम, डिरयाम, फ्लपी डिस्क, हार्ड डिस्क ड्राइभ लगायत अनगिन्ति प्रविधिको समेत आविष्कारक हो। यस कम्पनीका ६ जना बहालवाला तथा पूर्व कर्मचारीले विभिन्न आविष्कारका लागि ६ वटा विश्वप्रसिद्ध नोबेल पुरस्कार समेत पाइसकेका छन् ।

‘यस्तो विश्वप्रसिद्ध टेक कम्पनीको कार्यक्रम नेपालमा ल्याउन पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ एसियन इ–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठी भन्छन्, ‘अहिले सुचना प्रविधिको व्यापक विकाससँगै यसका चुनौतहरु पनि देखापरेका छन्। हामीले हाम्रा बालबालिकालाई यो चुनौतीको सामना गर्न सक्ने बनाउन पनि आइबिएमको यो कार्यक्रम आवश्यक महसुस भयो। अर्को कुरा, आजका विद्यार्थीले भोलि गएर जुनसुकै क्षेत्रमा काम गरेपनि आइटीको नविनतम प्रविधिहरुको ज्ञान बिना दक्षता हासिल गर्न सम्भव छैन। त्यसका लागि पनि आइबिएमको यो कोर्ष लिनु आवश्यक छ। अझ भविश्यमा गएर आइटी क्षेत्रमै करिअर बनाउँछु भन्नेको लागि त यो कोर्ष वरदान सरह नै छ।“

आइबिएमको यो कार्यक्रम अन्तर्गत तीन चरणका कोर्षहरु राखिएका छन्।पहिलो एक्सप्लोरर, दोश्रो डिस्कभरर र तेश्रो इनोभेटर। एक्सप्लोररको नारा मै “प्रविधिलाई माया गर्नुस्” भनिएको छ। यो कार्यक्रमभित्र विश्वस्तरको सिकाई सामाग्रीसहित आइबिएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, इन्डष्ट्रीबाट गेष्ट लेक्चररको पनि व्यवस्था पनि गरिएको छ।त्यस्तै डिस्कभररको उद्देश्य विद्यार्थीहरुलाई प्रोगामिङमा अब्बल बनाउने छ।यसभित्र विश्वस्तरको सिकाई सामाग्री, आइबिएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, इन्डष्ट्रीका गेष्ट लेक्चररसहित भर्चुअल ल्याब का साथै सामुहिक गतिविधि लगायतका कृयाकलापहरु राखिएको छ। त्यसपछि सबैभन्दा माथिल्लो तहको कोर्स छ– इनोभेटर । यसको नारा नै छ– “तपाई उद्यमीजसरी सोच्नुहोस्”। यो कार्यक्रमको लक्ष्य एउटा विद्यार्थी प्लस टुमा पुगिसक्दा बजारमा नयाँ र सिर्जनशिल उद्यमीका रुपमा स्थापित हुन सकोस् भन्ने छ। एक्सप्लोरर, डिस्कभरर र इनोभेटरभित्र पनि सामान्यदेखि एडभान्ससम्मका कोर्स छन् । त्यसभित्र हप्तामा एक दिन एक देखि डेढ घन्टा पढाउनेगरी ४० देखि ६० घन्टासम्मको कोर्स छ।

“अहिले विश्वभर एआइ अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (मेशिन लर्निङ), साइबर सुरक्षा र ब्लकचेन सबैभन्दा ठूला चुनौती र सम्भावना बोकेका क्षेत्रहरुका रुपमा चर्चामा छन्,” त्रिपाठी भन्छन्, “नेपालमा पनि निकट भविश्यमै यी प्रविधिहरुको प्रयोग व्यापक हुँदैछ। विश्व वजारमा त विभिन्न प्रक्षेपणअनुसार सन् २०३० सम्म आर्टिफिसियल इन्टेलिजेन्स (एआइ), साइबर सुरक्षा र ब्लक चेन प्रविधिहरुको आकार क्रमशः १०.८ खर्ब डलर, ५ सय अर्ब डलर र १.२ खर्ब डलरको हुने अनुमान गरिएको छ। हाम्रो भावी पिढीं यो अवसरबाट बञ्चित पनि नहोस् र उसले नवीन प्रविधिहरुको प्रयोग सुरक्षित, विश्वसनीय र नैतिक हिसाबले गर्न सकोस् भन्ने हेतुले पनि हामीले यो कोर्स नेपालमा लिएर आएका हौं।”
आइबिएम इनोभेसन सेन्टर फर एडुकेशन का व्यापार प्रबर्द्धन प्रमुख हरि रामासुब्रमन्यम ले नेपालका विद्यार्थीका लागि यो कोर्स सुरु गर्न पाउँदा खुशी प्रकट गरे। “यो कोर्स पाठ्यक्रममा आधारित नभई इण्डष्ट्रीमा आधारित भएर तयार गरिएको हो,” उनले भने, “पछिल्लो समय सुचना प्रविधिको क्षेत्रमा देखिएका नयाँ नयाँ प्रवृत्ति र निकट भविष्यमा यसले लिनसक्ने दिशा र त्यसले सिर्जना गर्ने जनशक्तिको आवश्यकतालाई हेरेर तयार गरिएको हो। कक्षा ५ देखि नै आइबिएमको यो कोर्स लिने विद्यार्थी कक्षा १२ सम्म पुगिसक्दा निकै स्मार्ट भइसक्ने र भविश्यको श्रम बजारको लागि समेत तयार हुने उनी बताउँछन्। “यी कोर्सहरु यसरी डिजाइन गरिएको छ कि कुनै पनि विद्यार्थीले पढ्दा नीरस र बोझिलो महसुस गर्दैन,” उनले भने “किनभने हामी बिद्यार्थीलाई दैनिक घोटाइरहँदैनौं। हप्तामा एक देखि डेढघन्टामात्रै खर्चिएर विभिन्न रोचक सिकाई सामाग्री मार्फत रमाइलो मान्दै यो कोर्स लिन सक्छ। त्यसैले परम्परागत शिक्षा प्रणालीलाई माथि उठाउन यस विद्यालय कार्यक्रमलाई सरकारी तहबाट समेत सहयोग हुने अपेक्षा राखेका छौं।”

अध्यक्ष त्रिपाठीका अनुसार यो कोर्स स्कुलमा कुनै थप लगानी बिनानै उपलब्ध पूर्वाधार एवम् जनशक्तिका आधारमा संचालन गर्न सकिनेछ। ७० प्रतिशत अनलाइन र ३० प्रतिशत अफलाइन माध्यमबाट यसको कक्षा संचालन गरिनेगरी कोर्स डिजाइन गरिएको छ। “विद्यार्थीलाई यो कोर्स दिलाउन स्कुलहरुले महंगा ल्याब स्थापना गर्नुपर्दैन”, अध्यक्ष त्रिपाठीले भने, “भर्चुअल ल्याबमार्फत प्रोगामिङ सिकाइनेछ। विद्यार्थीले इनोभेटर कोर्ष को दौरान तयार गर्ने प्रोजेक्टहरुलाई भेन्चर क्यापिटलिस्ट प्यानल तथा स्टार्टअफ फन्डहरु सामु प्रस्तुत गर्ने व्यवस्था मिलाइएको छ। यसोहुँदा कुनै पनि अव्वल विद्यार्थीले १२ कक्षा पुग्दा नपुग्दै बिउ पूँजी उपयोग गरी आफ्नो उत्पादन बजारमा ल्याई उद्यमी समेत बन्न सक्नेछ। त्यसका अलावा कुनै पनि कोर्ष सफलतापूर्वक सम्पन्न गरे पश्चात विद्यार्थीले विश्वका सबै ठाउँमा मान्यता पाउने आइबिएमको ग्लोबल सर्टिफिकेट पनि पाउनेछन्।”

भारतको प्रतिष्ठित टेक–एडु कम्पनी ट्रान्सन्यूरन टेक्नोलोजिजले आइबिएमको यो कार्यक्रमलाई आफ्नो सिकाइ व्यवस्थापन प्रणालीमा राखेर प्रवर्द्धन गरिरहेको छ। ट्रान्सन्यूरनले आफ्नो सिकाइ व्यवस्थापन प्रणाली मार्फत ३ करोड भन्दा बढि प्रयोगकर्ताहरु १ लाख भन्दा बढी तालिम केँद्रहरु तथा ५० हजार भन्दा बढी रोजगारदाता कम्पनीहरुलाई व्यवस्थापन गरिरहेको छ। ट्रान्सन्यूरनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिबम शर्माले भारत, नेपाल जस्ता विकासशील देशमा रहेको सीप र श्रमबजार बिचको खाडल पुर्न यस्ता कार्यक्रमहरु अत्यावश्यक रहेको बताए। “कम स्रोत र समयमै ठूलो जनसंख्यालाई तालिम प्रदान गर्न प्रविधिको प्रयोगबाट मात्र सम्भव हुने भएकाले अनलाइन र अफलाइनको हाइब्रिड मोडल प्रयोगमा ल्याएका छौँ। साथै हाम्रो सिकाई व्यवस्थापन प्रणाली मार्फत स्कुल, विद्यार्थी, शिक्षक र अभिभावकले छोटो अभिमुखिकरण पश्चातनै शैक्षिक गतिबिधि संचालन गर्न सक्छन्,” शर्माले भने, “हाम्रो सिकाइ प्रणालीमा प्रत्येक स्कुलले आफ्नो शैक्षिक क्यालेण्डर अनुसार आइबिएमका कोर्सहरुको तालिका निर्माण गर्ने सक्ने हुनाले थप स्रोतको व्यवस्था नगरिकनै उपलब्ध शिक्षक तथा ल्याब मार्फतनै पढाउन सक्छन्। ”

अनलाईनमार्फत प्रेसमिटमा सहभागी भएका शर्माले जुनुसुकै देशको विकासका लागि पुस्तान्तरण आवश्यक रहेको बताए । “कुनै पनि कार्यक्रम भर्चुअल शिक्षाबाट मात्रै पुर्ण हुँदैन । त्यसैले हामीले ३० देखि ४० प्रतिशत फेस टु फेस कक्षाको व्यवस्था गरेका छौं । विद्यार्थीलाई सानैदेखि यो कोर्षका बारेका सिकाइयो भने विद्यार्थीमा पनि ठूलो परिवर्तन र देशको अर्थतन्त्रमा पनि टेवा पुर्याउन सकिनेछ । ”

आइबिएमको यो विश्वस्तरको कार्यक्रम नेपालमा ल्याएको एसियन इ–लर्निङले यी कोर्षहरु प्रदेश तथा स्थानिय सरकारसँगको सहकार्यमा देशमा सामुदायिक विद्यालयहरुमा समेत पुर्याउने लक्ष्य लिएको छ। “हामीले कम्प्युटर ल्याब र कम्प्युटर शिक्षक भएका सामुदायिक स्कुल र प्लस टुका ५ हजार विद्यार्थीलाई प्रदेश तथा स्थानिय सरकारसँगको सहकार्यमा यो कार्षहरु उपलब्ध गराउने प्रस्ताव गरेका छौं”, प्रबन्ध निर्देशक त्रिपाठीले भने।

आइबिएम विद्यालय कार्यक्रम नेपालका सल्लाकार डा. सुभाष प्याकुरेलले स्कुलका बालबालिकालाई एकदमै उपयुक्त कार्यक्रम नेपालमा भित्रिएको बताए। “सही समयमा सही प्रकृतिको कार्यक्रम भित्रिएको छ। जसबाट नेपाल र नेपालीहरुले विश्वबजारको बौद्धिक वृत्तमा प्रवेश गरी देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सक्नेछन्”, उनले भने।

भर्खरै एसईईको परिक्षाफल आएको छ। प्लस टुमा भर्ना खुलेको छ। प्लस टुका विद्यार्थीलाई समेत लक्षित गरेर आइबिएमका यी कोर्षहरु तयार गरिएको र आइबिएम विद्यालय कार्यक्रम लागू गर्न इच्छुक स्कुल तथा प्लस टु कलेजहरुको संख्या बढिरहेकाले आजको प्रेस मिट आयोजना गरिएको प्रबन्ध निर्देशक त्रिपाठीले बताए ।

एन प्याबसनका निवर्तमान अध्यक्ष रितुराज सापकोटाले आइबिएमको यो कार्यक्रम बढीभन्दा बढी विद्यार्थीमा पुर्याउनुपर्ने बताए । “हाम्रा विद्यार्थी स्नात्तक तहसम्म पुग्दा एकेडेमिक बढी, सिप कम हुने अवस्था छ । यस्तो अवस्थामा यो कोर्ष किताबी ज्ञानलाई सिपसँग जोड्ने हिसाबले आएको हो भन्ने लाग्छ । आइबिएमजस्तो पुरानो र प्रतिष्ठित कम्पनीको यो कार्यक्रम बढीभन्दा बढी विद्यार्थीलाई पुर्याउन सके प्रभावकारी हुनेछ ।”

सिटीइभिटीका आइसिटी सीप विकास समितीका अध्यक्ष विनोद ढकालले विद्यार्थीलाई उद्यमी बनाउने हिसाबले यो कार्यक्रम ल्याउनु स्वागतयोग्य भएको बताए । “यस्तो कार्यक्रमलाई हामीले पैसा कमाउने हिसाबले ल्याएको भनेर बुझ्नुहुँदैन । यो एउटा इनोभेटिभ आइडिया हो । नेपालमा आइबिएमको यो कार्यक्रम आउनु एक किसिमको क्रान्ति नै हो । दक्ष जनशक्ति उत्पादनमा यसले महत्वपुर्ण भूमिका निर्वाह गर्नेमा म विश्वस्त छु । ”

प्याब्सनका उपाध्यक्ष कुमार घिमिरेले आइबिएिमको यो विद्यालय कार्यक्रमले लोभ्याएको भन्दै आफूहरु सहकार्य गर्न तयार रहेको बताए । “यो कोर्स सबै विद्यालयले लिन पाउनुपर्छ । निश्चित वर्गले पाउने अनि फि तिर्न नसक्ने वञ्चित हुने वर्तले विरोध गर्ने अवस्था नबनोस् । सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि सहजै उपलब्ध हुने वातावरणका लागि सरकारलाई घच्घचाउन जरुरी छ।”

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार