CLI

उपल्लो डोल्पाको मोरिम्ला नाका ६ वर्षपछि खोल्ने तयारी

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो ।

नाका यही साउन को १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले हालसम्म एक हजार आठ सयभन्दा बढी प्रवेशाज्ञा जारी गरेको छ ।

दिनहुँ प्रवेशाज्ञा लिन उल्लेख्य सङ्ख्यामा नागरिक आइरहेको प्रजिअ दाहालले बताए। उपल्लो डोल्पावासीको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको उक्त नाका लामो समयपछि खुल्न लागेकाले यस अवधिमा कुनै पनि प्रकारका अप्रिय घटना नघटुन् भनेर सीमाक्षेत्र आसपासमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर जाँचमा कडाइ गरिने उनले बताए ।

अवैध तथा प्रतिबन्धित वस्तु ओसारपसार गर्न नदिन डिभिजन वन कार्यालयले समेत सो क्षेत्रमा निगरानी गर्ने भएको छ । प्रन्ध दिनका लागि मात्र खुल्ने उक्त नाकाबाट उपल्लो डोल्पावासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, चिया, पेयपदार्थलगायत खाद्यवस्तुको किनमेल गर्ने गर्दछन् । यसरी खरिद गरिएका सामग्री घोडा, खच्चड, याक, चौंरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ ।

उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकलाई सदरमुकाम झरेर सामान किन्न एक सातासम्म लाग्नुका साथै महँगो पनि पर्दछ । डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिननमै सो नाका पुग्न सकिन्छ ।

यस वर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकामा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने डोल्पोबुद्ध गाउँपालिकाका पेमाछेवाङ गुरुङले बताए । यस वर्ष उपल्लो डोल्पामै पर्ने क्याटो नाका भने नखुल्ने बताइएको छ ।

Leave Your Comment

Related News