रोकिएको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति भोलि शुक्रवार सार्वजनिक गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको सबै तयारी पुरा भएको भन्दै राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने बताएको हो ।

यसअघि राष्ट्र बैंकले तयारी पूरा गरेर मौद्रिक नीति सार्वजनिक गर्ने योजनासाथ गत शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको थियो, तोकिएकै समयमा बैठक बस्यो तर मौद्रिक नीति आएन । प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको हस्तक्षेपका कारण मौद्रिक नीति रोकिएको आरोप लागे पनि राष्ट्र बैंकले भने सो विषयलाई स्वीकार गरेको छैन । विज्ञहरुले मौद्रिक नीति माथि प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयबाट हस्तक्षेप गर्नु उचित नभएको बताए पनि यसअघि सार्वजनिक गर्ने तयारीमा रहेको मौद्रिक नीति राष्ट्र बैंकले अन्तिम समयमा आएर रोकिएको बताएको थियो ।

‘कार्यविधिमा आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति ल्याइने भन्ने छ । राष्ट्र बैंकले प्रायः साउन पहिलो साता मौद्रिक नीति ल्याउने गरेको छ । आर्थिक वर्ष ०८०÷८१ मा साउन ७ मा र ०७९÷८० मा साउन ६ मा मौद्रिक नीति सार्वजनिक गरिएको थियो । आर्थिक वर्ष ०७८÷७९ मा भने सरकारको हस्तक्षेपकै कारण राष्ट्र बैंकले साउन २९ मा मात्र मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समय तय गर्ने राष्ट्रबैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले बताए । अर्थतन्त्र दबाबमा रहेकाबेला सार्वजनिक हुन लागेको मौद्रिक नीति अर्थतन्त्रलाई सहज अवस्थामा पुराउने ल्याउनु आवश्यक रहेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम बढ्दो छ, बजार चलायमान हुन सकेको छैन, रोजगारी सिर्जना हुन सकेको छैन जसले गर्दा अर्थतन्त्र खुम्चिदै गएको अवस्थामा मौद्रिक नीतिले ती समस्याको समाधान गनुपर्ने देखिन्छ । बजार चलायमान बनाउदै, रोजगारी वृद्धि हुने , उद्योग तथा व्यापार फस्टाउने गरी मौद्रिक नीति ल्याउनु आवश्यक छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन् । त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार