गण्डकी प्रदेशमा विदेशी पर्यटक : करिब १२ दिने बस्ने ६२.८९ अमेरिकी डलर खर्च गर्ने

काठमाडौं । गण्डकी प्रदेशमा भ्रमण गर्ने विदेशी पर्यटकहरु औसत १२ दिन बस्ने गरेको पाइएको छ । राष्ट्र बैंकले गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुको बसाई तथा खर्चको प्रवृत्ति २०८०÷८१’ को अध्ययन प्रतिवेदनमार्फत् गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको यस प्रदेशमा औसत बसाई अवधि १२ दिन र पर्यटकहरुको भारित औसत दैनिक खर्च ८ हजार ३५५ रुपैयाँ २९ पैसा ( अमेरिकी डलर ६२.८९) रहेको पाईएको छ । भुक्तानीका माध्यम प्रयोगको विश्लेषण गर्दा यस सर्वेक्षणमा संलग्न पर्यटकहरुमध्ये नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले भुक्तानी गर्ने गरेको पाईएको छ । सर्वेक्षणमा समावेश पर्यटकहरुमध्ये केही पनि समस्या अनुभव नगरेका पर्यटकहरु २८.४१ प्रतिशत भएतापनि बाँकी ७१.५९ प्रतिशत पर्यटकहरुले विभिन्न समस्याहरु जस्तै भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षाको समस्या, भुक्तानीमा समस्या, सास्कृतिक फरकपनाले निम्त्याएको समस्या इत्यादि भोग्नु परेको पाईयो ।

त्यस्तै राष्ट्र बैंकका अनुसार उक्त अध्ययनमा समावेश पर्यटकहरुको भारित औसत दैनिक खर्च रु ८३५५.२९ ( अमेरिकी डलर ६२.८९ ) रहेको पाईएको छ । प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत खर्च दैनिक रु ११, ८६६.०९ ( अमेरिकी डलर ८९.३१) रहेको पाईएको छ । त्यसैगरी स्वतः स्फुर्त रुपमा खर्च गर्ने गरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरुको दैनिक औसत खर्च रु ७,२१७३१ ( अमेरिकी डलर ५४.३२ ) रहेको पाईएको छ । औसत दैनिक खर्चको हकमा पर्यटकहरुको सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत रहेको छ भने बसाईमा २७६ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत र मनोरञ्जनमा १२.३ प्रतिशत देखिएको छ । उमेर समुहका आधारमा पर्यटकहरुको खर्च गर्ने प्रवृत्ति विश्लेषण गर्दा यस प्रदेशमा आउने पर्यटकहरुमध्ये ४६ देखि ५५ उमेर समुहका पर्यटकहरुको बसाई खर्च, खानपिन खर्च र धार्मिक खर्च क्रमशः ३२.४९ प्रतिशत, २९.२६ प्रतिशत र १.५७ प्रतिशत पाइयो जुन अरु उमेर समूहको भन्दा बढी हो । त्यस्तै, २० वर्ष सम्मको उमेर समूहको यातायात खर्च (२४.०७ प्रतिशत) र किनमेल खर्च (९.६५ प्रतिशत) सबैभन्दा बढी देखिएको छ । २१ देखि ३० बर्ष उमेर समूहको पर्यटकहरुको मनोरञ्जन खर्च (१८.०७ प्रतिशत) र अन्य खर्च (३.३५ प्रतिशत) अन्य उमेर समूहको भन्दा बढी रहेको पाईएको छ । स्वतः स्फुर्त रुपमा आउने पर्यटकहरुको अंश ७६ प्रतिशत र प्याकेज टुर्समा आउने पर्यटकहरुको अंश २४ प्रतिशत रहेको छ । यसरी प्याकेज लिएर भ्रमण गर्न आउने पर्यटकहरुमध्ये राष्ट्रिय प्याकेज लिने पर्यटकहरुको अंश ५३.१२ प्रतिशत र अर्न्तराष्ट्रिय प्याकेज लिने पर्यटकहरुको अंश ४६.८८ प्रतिशत रहेको छ ।

त्यस्तै अध्ययनमा संलग्न पर्यटकहरुमध्ये ३१ देखि ४५ उमेर समूहका पर्यटकहरुको औसत बसाई अवधि उच्च ( नेपालमा २५ दिन र गण्डकी प्रदेशमा १४ दिन) रहेको देखियो । त्यसैगरी ५५ देखि बढी उमेर समूहका पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबैभन्दा न्यून (९ दिन) रहेको देखियो भने २० वर्षसम्म पर्यटकहरुको नेपालमा औसत बसाई अवधि सबैभन्दा न्यून ( १९ दिन) रहेको छ । विभिन्न ६ महादेशबाट आएका पर्यटकहरुमध्ये दक्षिण अमेरिका महादेशबाट आएका पर्यटकहरुको औसत बसाई अवधि सबैभन्दा धेरै १९ दिन रहेको पाइयो भने सबैभन्दा कम औसत बसाई अवधि ९ दिन एसिया महादेशबाट आउने पर्यटकहरुको रहेको पाइएको छ । सबैभन्दा बढी र कम राष्ट्रिय औसत बसाई अवधि भने क्रमशः २८ दिन र १६ दिन रहेको छ ।

त्यस्तै , गण्डकी प्रदेशका विभिन्न ६ जिल्लाबाट नमूना संकलन गरिएकोमा मनाङ जिल्लामा भेटिएका पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबै भन्दा धेरै (१८ दिन) र गोरखा जिल्लामा भेटिएका पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबै भन्दा न्यून (४ दिन) रहेको छ ।  गण्डकी प्रदेशमा आउने पर्यटकहरुको प्रदेशमा बसाईको अनुभवप्रतिको दृष्टिकोण विश्लेषण गर्दा ६० प्रतिशत पर्यटकहरु एकदमै सकारात्मक, ३४.७५ प्रतिशत सकारात्मक ५ प्रतिशत तटस्थ र ०.२५ प्रतिशत नकारात्मक रहेको छ । साथै, यस अध्ययनमा अत्यधिक नकारात्मक बसाई अनुभव भएका पर्यटकहरु भेटिएको छैन ।
अध्ययनमा ८७ प्रतिशत पर्यटकहरुले आफ्नो बसाई अवधिमा गण्डकी प्रदेशबाट लिन सकिने सम्पूर्ण आनन्द लिन सकेको पाईयो भने बाँकी १३ प्रतिशतले भने पूर्ण आनन्द लिनका लागि थप दिन आवश्यक पर्ने बताएका छन् । यसका साथै, औसतमा आफ्नो बसाई अवधिमा २३ दिन थप गर्न सके मात्र गण्डकी प्रदेशबाट लिन सकिने सम्पूर्ण आनन्द लिन सक्ने देखिएको छ ।

 

त्यस्तै , गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुको औसत बसाई अवधि, शिर्षकगत खर्चको प्रवृत्ति र भुक्तानीका माध्यमको विश्लेषण गर्नुका साथै पर्यटकहरुले सामना गर्नुपरेका कठिनाइहरुको पहिचान गर्ने मुख्य उद्देश्यका साथ उक्त अध्ययन गरिएको राष्ट्र बैंकले जनाएको छ । जैविक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक विविधतायुक्त गण्डकी प्रदेशको समृद्धिको प्रमुख संवाहक पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको गण्डकी प्रदेश मनोरञ्जन, साहसिक, धार्मिक लगायत विभिन्न प्रकारका पर्यटनका लागि प्रसिद्ध छ । यस्तो प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यस प्रदेशमा वर्षेनी स्वदेश तथा विदेशबाट ठूलो संख्यामा पर्यटकको आगमन हुने गरेको छ । प्रदेशको आर्थिक विकास तथा रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको योगदान थप बलियो बनाउन पर्यटक केन्द्रीत नीति निर्माण गर्न पर्यटकहरुको बसाई तथा खर्चको प्रवृत्तिको अध्ययन गर्न जरुरी देखिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रस्तुत सर्वेक्षणबाट प्राप्त तथ्यांक विश्लेषण गर्दा यस अध्ययनको नतिजाले गण्डकी प्रदेशको आर्थिक विकास तथा रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको योगदान थप बलियो बनाउन पर्यटक केन्द्रीत नीति निर्माण तथा पर्यटक लक्षित कार्यक्रमहरु संचालन गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार