ऊर्जा मन्त्री खड्काले स्काउटको ६ करोड ६९ लाख भाडा तिरेनन्, छानबिन गर्न संसदिय समितिको माग

काठमाडौं ।  नेकपा माओवादीका सांसद विमला सुवेदीले नेपाल स्काउटको जग्गा तथा भवन लिजमा लिएर भाडा नतिर्ने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई छानबिनको दायरामा ल्याउन माग गरेकी छिन्। विगतमा पूर्व गृहमन्त्री आवद्ध रहेको संस्थाले ऋण लिएको विषयमा सांसदहरुले संसदिय छानबिन बनाएकाले वर्तमान मन्त्रीले पनि भाडा नतिरी राज्य दोहन गरेकाले छानबिनको दायरामा ल्याउनु पर्ने बताइन्।

उनका अनुसार मन्त्री खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले नेपाल स्काउटसँग लिज सम्झौता गरी लिएको जग्गाको तथा भवनको ६ करोड ६९ लाख २७ हजार ८९१ रुपैयाँ बक्यौदा तिरेको छैन।

‘सरकारकै मन्त्रीको कम्पनीले सरकारलाई तिर्नु पर्ने रकम नतिरी राज्य दोहन गर्ने कार्य खेदजनक छ। विगतमा पूर्व गृहमन्त्री आवद्ध रहेको संस्थाले ऋण लिएको विषयमा सांसदहरुले संसदिय छानबिन बनायौं,’ उनले भनिन्। यो छानबिनको विषय हुनु पर्ने कि नपर्ने उनको प्रश्न छ। माननिय मन्त्रीले जवाफ दिनु पर्ने कि नपर्ने भन्दै उनले मन्त्रीसँग जवाफ खोजिन्।

खड्काले काठमाडौं महानगरपालिका वडा नम्बर २६, लैनचौरस्थित स्काउटको जग्गा एवं सम्पत्ति विगत छ वर्षदेखि कब्जा गर्दै आएका छन् । खड्काको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ले २०६५ सालमा भाडामा लिने सम्झौता गरी सो जग्गा कब्जा गरेको हो । तीन रोपनी जग्गा न्यून भाडादरमा सम्झौता गरी आफ्नो कम्पनीमार्फत कब्जा लिँदै आएका खड्काले सम्झौता सकिएपछि पनि जबर्जस्ती कब्जामा लिँदै आएका थिए । सम्झौता अवधिलाई किर्ते गर्दै उनले समयावधि थप गरे पनि उक्त सम्झौता भने द्विपक्षीय नभएको स्काउटका अधिकारीहरूले बतएका छन् । खड्काले अदालतको आदेश स्काउटको पक्षमा आउँदा समेत शक्तिको आडमा जग्गा कब्जा गरिरहेका छन् ।

२०७९ असारमा उच्च अदालतले स्काउटको पक्षमा फैसला गरेपछि पनि जग्गा स्काउटले भोगचलन गर्न पाएको छैन । उच्चको फैसलापछि राजनीतिक शक्तिको दुरुपयोग गरी स्काउटको जग्गा हडप्ने खड्काको योजना विफल भएको स्काउटका संयोजक लोकबहादुर भण्डारीले बताएका थिए । भण्डारीले नै स्काउटका पूर्वपदाधिकारी र पूर्वकर्मचारी प्रमुखले किर्ते गरी १० वर्षको सम्झौतालाई १५ वर्ष बनाएको र अदालतले सो कुरालाई प्रमाणित गरेको बताएका थिए । २०७५ सालमा सम्झौता सकिएपछि पनि किर्ते सम्झौतालाई आधार मानी खड्काले जग्गा हडप्दै आएका थिए भने अदालतको आदेशलाई समेत बेवास्ता गर्दै आएका छन् ।

खड्काले कब्जा गरेको जग्गा आफू र कांग्रेसका कार्यकर्ताले समेत प्रयोग गर्दै आएका छन् । आफ्नो चरित्रहत्या गर्नका लागि जग्गा कब्जा गरेको विषय सार्वजनिक गरेको भन्दै आएका खड्काले पछिल्लो समय जग्गा भाडामा लिएको बताएका थिए । गत वैशाखमा पत्रकार सम्मेलनमार्फत उनले १५ वर्षअघि स्काउटले सटर बनाउन लिएको ऋण तिर्न नसक्दा आफूले जग्गा भाडामा लिएर सहयोग गरेको बताएका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार