देशभर ९२.४ प्रतिशत धान रोपाई, सबैभन्दा कम कोशी प्रदेशमा

काठमाडौं । देशभर खेतीयोग्य जमिनमध्ये ९२.४ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार देशभर कुल १३ लाख ९८ हजार २७३ हेक्टर धान उत्पादन हुने खेत रहेकोमा साउन १३ गतेसम्म १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । गत वर्ष यस अवधिमा ७८.१ प्रतिशत धान रोपाई भएको थियो।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९९.६ प्रतिशत धान रोपाई भएको छ। सुदूरपश्चिमको १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा रोपाई हुनेमा हालसम्म १ लाख ७३ हजार ७९९ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ।

सबैभन्दा कम धान रोपाई कोशी प्रदेशमा भएको छ। कोशीमा जम्मा ९०.७ प्रतिशत रोपाई भएको छ। कोशीको २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफल मध्ये २ लाख ५० हजार ६२४ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ।

मधेस प्रदेशमा ९२ प्रतिशत, बागमती प्रदेशमा ९८.८ प्रतिशत, गण्डकी प्रदेशमा ९१.९ प्रतिशत, लुम्बिनी प्रदेशमा ९१.३ प्रतिशत र कर्णाली प्रदेशमा ९६.९ प्रतिशत रोपाई भएको मन्त्रालयले जानकारी दिएको छ।

यस वर्ष छिट्टै वर्षा भएकाले साउनको दोस्रो सातामै ९२ प्रतिशतभन्दा धेरै धान खेती हुने जग्गामा रोपाई भएको हो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार