वैदेशिक रोजगार बचतपत्र बारेमा १२.५ प्रतिशत मात्र जानकार, बिक्री जम्मा ४.९ प्रतिशत

काठमाडौं । वैदेशिक रोजगारमा जाने १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको एक अध्ययनमा देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइएको छ। केन्द्रिय बैंकले वैदेशिक रोजगारीमा गएका ३५८ जनासँग गरिएको स्थलगत सर्वेक्षणमा ४८ जनालाई मात्र वैदेशिक रोजगार बचतपत्र बारेमा जानकार रहेको पाइएको छ। बाँकी ८७.५ प्रतिशत भने यस विषयसँग अनभित्र रहेका छन्। महिलाको हकमा भने यस्तो प्रतिशत अझ न्यूनर रहेको छ। कुल ७४ महिलामध्ये ६.८ प्रतिशतलाई मात्र बचतपत्रको बारेमा जानकारी रहेको छ।

तर स्थलगत सर्वेक्षणको क्रममा वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएका कसैले पनि बचतपत्र खरिद गरेको उल्लेख गरेका छैनन्।

नेपाली नागरिकको वैदेशिक रोजगारीमा आकर्षण बढिरहेको सन्दर्भमा एकातर्फ विप्रेषण आय बैंकिङ्ग प्रणालीबाट भित्र्याउन प्रोत्साहित गर्ने र अर्कोतर्फ सरकारको आन्तरिक ऋण परिचालनमा समेत योगदान पुर्‍याउने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको शुरुवात भएको हो । वैदेशिक रोजगार बचतपत्र आकर्षक बनाउन यसको ब्याजदर तुलनात्मक रुपमा उच्च हुने गरेको छ । यस्तो बचतपत्र आवश्यकता अनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा लिन सकिने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा रू. १५ अर्ब ५६ करोड वैदेशिक रोजगार बचतपत्र आव्हान भएकोमा जम्मा रू.७६ करोड २३ लाख (४.९%) मात्र बिक्री भएको छ । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको छ । वैदेशिक रोजगार बचतपत्र अपेक्षित रुपमा परिचालन हुन नसकेको सन्दर्भमा प्रवर्द्धनका उपायहरु सुझाउनु अध्ययनको मूल उद्देश्य रहेको छ । अध्ययनमा वैदेशिक रोजगार बचतपत्र परिचालन स्थिति तथा योगदानको समग्र विश्लेषण गर्दै बचतपत्रबारे जानकारी, खरिद गर्ने तत्परता, खरिद गर्न चाहने/नचाहने कारण र प्रवद्र्घनका उपायहरुको विश्लेषणको लागि तीन प्रकारका सर्वेक्षण सम्पन्न गरिएको छ : वैदेशिक रोजगारीबाट फर्किएका वा पुन: जान लागेका ३८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेण्टहरुसँग इमेल सर्वेक्षण । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभागमा तथा काठमाडौं बाहिरका झापा–काँकडभिट्टा, वीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली र धनगढी–गौरीफण्टाका नाकाहरुमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षणमा करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका र १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइएको छ । तर जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद गरेको देखिएन । वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झण्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनु पर्ने कारण उल्लेख गरेका छन्। वैदेशिक रोजगार बचतपत्रकोबिक्री एजेण्टका १६ प्रतिनिधिहरुसँग गरिएको इमेल सर्वेक्षण अनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा सोधनी गरेको तर खरिदमा तत्परता नदेखाउने गरेको उल्लेख गरेका छन्। त्यसैगरी, काठमाडौं स्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षण अनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएको र १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको बताएका छन्। यस अध्ययनले वैदेशिक रोजगार बचतपत्र प्रवर्द्धनको लागि देहाय बमोजिमका नीतिगत तथा प्रक्रियागत सुधार र प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता औल्याएको छ ।

नीतिगत सुधार

(क) वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुको साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउने ।

(ख) वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले विदेशस्थित विदेशी मुद्राको बैंक खाताबाट समेत खरिद गर्न पाउने व्यवस्था मिलाउने । यद्यपी, कतिपय मुलुकहरुको कानूनले यस्तो बन्देज लगाएको सन्दर्भमा श्रम संझौतामा समावेश गरी लगानी गर्न सक्ने व्यवस्था मिलाउन पहल गर्ने ।

(ग) नेपाल सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचपतत्र छुट्टा छुट्टै निकाल्नु भन्दा एकै प्रकारको बचतपत्रको व्यवस्था गर्ने तर गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीलाई बचतपत्र खरिदमा विनिमयदर मार्फत्सहुलियत दिने ।

(घ) सरकारले बजेट घाटा परिपूर्तिको लागि बचतपत्र निष्काशन गर्ने प्रचलन रहेकोमा आगामी वर्षहरुमा मुलुकको सर्वाधिक महत्त्वका पूर्वाधार आयोजना लक्षित वित्तीय साधन जुटाउन बचतपत्र निष्काशन गर्ने ।

प्रक्रियागत सुधार

(क) बचतपत्रको आर्जित ब्याज र परिपक्व भएको साँवा बचतपत्र धनीको बैंक खातामा सोझै उपलब्ध हुने व्यवस्था मिलाउने ।

(ख) बचतपत्रको प्रमाणपत्र तत्काल उपलब्ध हुने वा अनलाइन मार्फत प्राप्त हुने व्यवस्था मिलाउने ।

(ग) हाल बचतपत्र वर्षको एकपटक छोटो अवधिका लागि मात्र आव्हान हुने गरेकोमा आर्थिक वर्षको शुरुमा निष्काशन गर्ने र आव्हान रकम बिक्री नभएसम्म खुला रहने व्यवस्था मिलाउने ।

कानूनी व्यवस्था

हाल सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन नियमावली २०८० बमोजिम वैदेशिक रोजगार बचतपत्रको निष्काशन र खरिद–बिक्री हुने गरेको छ । यस बाहेक वैदेशिक रोजगार बचतपत्रको निष्काशन र व्यवस्थापनको लागि वैदेशिक रोजगार बचतपत्र सम्बन्धी कार्यविधि, २०६९ (दोश्रो संशोधन, २०७६) कार्यान्वयनमा रहेको छ । उक्त कार्यविधिमा बचतपत्र निष्काशन गर्नुको उद्देश्य, बचतपत्रको विशेषता, ब्याज तथा साँवा प्राप्तिको व्यवस्था, खरिद गर्न पाउने मापदण्ड, खरिद गर्दा पेश गर्नुपर्ने कागजात तथा विधि र प्रक्रिया उल्लेख रहेको छ । त्यसैगरी सोकार्यविधिमा बचतपत्रको दोश्रो बजार सञ्चालन, बचतपत्र बिक्री गर्ने बिक्री एजेण्टहरूले पाउने कमिसन र बचतपत्र बिक्रीमा विदेशस्थित नेपाली कुटनीतिक नियोगको भूमिका, बिक्री एजेण्टहरुको कार्य तथा जिम्मेवारीका बारेमा समेत उल्लेख छ । बिक्री एजेण्टहरूले बचतपत्रको आव्हानको सूचना बमोजिम उल्लिखित शर्त र विधि अनुसार बिक्रीको लागि आवेदन लिने व्यवस्था रहेको छ । नेपालभित्र रहेका बिक्री एजेण्टहरुले समेत विदेशमा रहेका खरिदकर्ताको आवश्यक विवरण तथा कागजात प्राप्त गरी बचतपत्र बिक्री गर्नसक्ने व्यवस्था रहेको छ ।

सेवा शुल्क र कर सम्बन्धी व्यवस्था

वैदेशिक रोजगार बचतपत्र सम्बन्धी कार्यविधि, २०६९ (दोश्रो संशोधन, २०७६) अनुसार वैदेशिक रोजगार बचतपत्र बिक्री गरेवापत्सरकारले बिक्री एजेण्टहरुलाई कुल रकमको ०.६५ प्रतिशत कमिशन शुल्क दिने व्यवस्था रहेको छ । यस्तो बचतपत्रमा पाकेको ब्याजमा नियमानुसार कर लाग्ने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ब्याजकर शुल्क ६ प्रतिशत रहेको छ ।

निष्काशन विधि र प्रक्रिया

प्रत्येक वर्ष वार्षिक बजेटबाट निर्धारित आन्तरिक ऋण परिचालनमा नेपाल सरकार, अर्थमन्त्रालयले आन्तरिक ऋण उपकरण, रकम र निष्काशन मिति अग्रिम निर्धारण गरी सो अनुसार निष्काशन आव्हान हुने व्यवस्था रहेको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको हकमा ब्याजदर समेत सरकारले अग्रिम निर्धारण गर्ने व्यवस्था रहेको छ । वैदेशिक रोजगार बचतपत्र सम्बन्धी कार्यविधि, २०६९ (दोश्रो संशोधन, २०७६) अनुसार वैदेशिक रोजगारीमा रहेका तथा रोजगारीबाट फर्किएको ६ महिना व्यतित हुन बाँकी नेपाली नागरिक तथा निजका एकाघर परिवारका सदस्य र गैर आवासीय नेपालीले समेत बिक्री एजेण्टमार्फत्यस्तो बचतपत्र खरिद गर्न पाउने व्यवस्था रहेको छ । वैदेशिक रोजगार बचतपत्रको मुख्य विशेषता र प्रावधान देहाय बमोजिम रहेको छ ।

  •  यस्तो बचतपत्र सरकारले निष्काशन गर्ने भएकोले पूर्ण सुरक्षित रहेको,
  •  खरिदकर्ताको आवश्यकता अनुसार स्टक वा प्रमिसरी नोटको रुपमा खरिद गर्न पाउने,
  •  न्यूनतम रु.१० हजार र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजारले नि:शेष भाग जाने अंक बराबर खरिद गर्न सकिने,
  •  ब्याजदर परिवर्तन नहुने,
  •  यस बैंकबाट इजाजतपत्रप्राप्त ”क”, ”ख” र ”ग” वर्गका बैंक तथा वित्तीय संस्था र बजार निर्माताबाट बचतपत्रको ब्याज तथा साँवा तोकिएको मितिमा प्राप्त हुने,
  • ड्ड बचतपत्र धनीले आवश्यकता अनुसार बजार निर्माता मार्फत्तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन सकिने व्यवस्था रहेको छ ।

वैदेशिक रोजगार बचतपत्र बिक्री प्रवद्र्घन गर्ने उपायहरु

स्थलगत सर्वेक्षणको क्रममा वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएका जम्मा ४८ व्यक्तिमध्ये २९.२ प्रतिशतले ब्याज छिटो पाउने भएमा र ५६.२ प्रतिशतले ब्याज रकम बैंक खाता मार्फत् सीधै पाउने व्यवस्था भएमा यस्तो बचतपत्र खरिद गर्ने उल्लेख गरेका छन् । यसमध्ये १४.६ प्रतिशतले भने खरिद प्रक्रिया सजिलो भएमा बचतपत्र खरिद गर्ने उल्लेख गरेका छन्। त्यस्ता कुल ४८ व्यक्तिहरुले वैदेशिक रोजगार बचतपत्रको सामाजिक सञ्जाल मार्फत् प्रचार– प्रसार बढाउनुको साथै बचतपत्रलाई डिम्याट गर्ने र ब्याजदर बढाउने कार्यले बचतपत्र आकर्षक हुने उल्लेख गरेका छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार