सैनिक आवासीय महाविद्यालयमा निर्मित प्रशासनिक भवन, ओभर हेड ब्रिज र ई-लाइब्रेरी

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले आज बुधबार भक्तपुरको सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयमा निर्मित प्रशासनिक भवन, ओभर हेड ब्रिज र ई-लाइब्रेरीको उद्घाटन गरेका छन् ।

उक्त भौतिक संचनाहरुको निर्माणसँगै सैनिक आवासीय महाविद्यालय, सल्लाघारीमा सम्पूर्ण प्रशासनिक कार्य एकै स्थानबाट सञ्चालन गर्न सहयोग पुग्नुका साथै विद्यार्थीहरूका लागि अतिरिक्त समयमा ई-लाईब्रेरीबाट ईलेक्ट्रोनिक पाठ्य सामाग्रीको प्रयोग एवं खोजमूलक अध्ययन गर्न सहजता हुनेछ । त्यस्तै ओभर हेड ब्रिज निर्माणसँगै विद्यार्थीहरूलाई सल्लाघारी भक्तपुर सडक सुरक्षित साथ वारपार गरी कक्षा कोठा र आवास भवनरखेल मैदानमा आवतजावत गर्न मद्दत पुग्नेछ । सोही अवसरमा प्रधान सेनापतिले महाविद्यालयको शैक्षिक, बन्दोबस्ती, सुरक्षा लगायतका विविध पक्षहरू बारे जानकारी लिनुको साथै नवनिर्मित भौतिक संरचना लगायत विविध पक्षहरूको अवलोकन गरेका थिए ।

त्यस्तै प्रधान सेनापतिले आजै भक्तपुरको खारिपाटी स्थित विद्युत् तथा यान्त्रिक शिक्षालय परिसरमा निर्माण गर्न लागिएको नेपाली सेना इन्जिनियरिङ कलेजको समेत शिलान्यास गरेका छन् । इन्जिनियरिङ सम्बन्धी विभिन्न विधाहरुमा कक्षा सञ्चालन गर्ने लक्ष्य सहित स्थापना गर्न लागिएको यस कलेजबाट सो सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको छ ।

समुद्‍घाटन तथा शिलान्यास समारोहमा बलाधिकृत रथी अशोक राज सिग्देल लगायत रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार