अमेरिकी डलर ६० हजारबाट बढ्दै १ लाख सम्मको सटही सुविधा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामार्फत् अमेरिकी डलर १ लाखसम्मको सामानको आयातको लागि सटही सुविधा पाइने भएको छ । यो सँगै यसअघिको ६० हजार अमेरिकी डलर सटही सुविधमा वृद्धिदर भइ १ लाख अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले बुधबार विदेशी विनिमय कारोबार गर्न अनुमतिपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० लाई संशोधन गर्दै सो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । निर्देशनअनुसार अबदेखि एक पटकमा अधिकतम अमेरिकी डलर १ लाख वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान आयात गर्न सकिनेछ । यसबमोजिम एक पटक सटही सुविधा प्राप्त गरेपछि पुन सोही निर्यातकर्ताबाट अर्को सीपमेन्टको वस्तु आयातको लागि सटही सुविधा प्राप्त गर्नको लागि भने केही सर्तहरू पूरा गर्नुपर्नेछ । यस्तो सर्तहरूअन्तर्गत अघिल्लो पटक सटही सुविधा प्राप्त गरी आयात भएको सात दिन व्यतित भएपछि मात्र पुनः सटही सुविधा प्राप्त हुनेछ ।

यात भएको प्रमाणको रूपमा भन्सार कार्यालयले प्रमाणित गरेको भन्सार प्रज्ञापन पत्र तथा भन्सार राजस्व भुक्तानी भएको रसिद सम्बन्धित बैंक तथा वित्तीय संस्थामा पेस गर्नुपर्ने परिपत्रमा उल्लेख छ । अघिल्लो सटही सुविधा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिने आयातकर्ताको हकमा भने माथि उल्लिखित कागजातका अतिरिक्त सात दिन व्यतित भएको स्वघोषणा समेत आयातकर्ताले पेस गर्नुपर्ने छ । परिपत्रअनुसार माथि जे–जस्तो लेखिएको भए पनि पटक–पटक गरी सोही निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर १ लाखको सीमाभित्र रहने भएमा सात दिन व्यतित हुन अनिवार्य हुने छैन ।

राष्ट्र बैंकका अनुसार यसअघि भने सामान आयातको लागि सटही हुने यस्तो सिमा ६० हजार अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुद्राबराबरको रहेको थियो । राष्ट्र बैंकका अनुसार सुनचाँदीजन्य उद्योग व्यवसायले पनि व्यवसायको लागि आवस्यक कच्चापदार्थ आयातको लागि १ लाख अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध हुनेछ । यसअघि यस्तो सामान आयातको लागि ६० वा सोबराबरको परिवर्तन्य विदेशी मुद्राको सटही सुविधा थियो ।

राष्ट्र बैंकका अनुसार संशोधन पश्चयात बैंक तथा वित्तीय संस्थाले यस्तो सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ५०,००० (अमेरिकी डलर पचास हजार) वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मको लागि मात्र प्रदान गर्न सक्नेछ । संशोधन अघि भने सटही सुविधा वढीमा एक पटकमा अमेरिकी डलर ३५,००० (अमेरिकी डलर पैंतीस हजार) वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मको लागि मात्र प्रदान गर्न सकिने व्यवस्था गरिएको थियो ।

संशोधित व्यवस्था अनुरुप एउटा ‘बेनीफिसरी ’ ले भुक्तानी पाउने गरी एउटै ‘बेनीफिसरी ’ द्वारा अमेरिकी डलर ५०,००० (पचास हजार) वा सो बराबरको परिवर्त्य विदेशी मुद्राभन्दा बढी हुने गरी यस्तो सुविधा प्रदान गर्न पाइने छैन । एक पटक अमेरिकी डलर ५०,००० (पचास हजार) वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्रदान भएपश्चात् पुनः सोही आवेदनकर्ताले सोही ‘बेनीफिसरी ’ बाट वस्तु आयातको भुक्तानी पठाउनु पर्ने भए अघिल्लो पटक सटही सुविधा लिएको वस्तु ढुवानी भएको ७ कार्यदिन व्यतीत भएपश्चत् मात्र पुनः सटही सुविधा प्रदान गर्न सकिनेछ । संशोधन अघि ने यस व्यवस्थाअन्तर्गत एउटा ‘बेनीफिसरी ’ ले भुक्तानी पाउने गरी एउटै आवेदनकर्ताद्वारा अमेरिकी डलर ३५,००० (पैंतीस हजार) वा सो बराबरको परिवर्त्य विदेशी मुद्राभन्दा बढी हुने गरी यस्तो सुविधा प्रदान गर्न पाइने छैन । एक पटक अमेरिकी डलर ३५,००० (पैंतीस हजार) वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्रदान भएपश्चात् पुनः सोही आवेदनकर्ताले सोही ‘बेनीफिसरी ’ बाट वस्तु आयातको भुक्तानी पठाउनु पर्ने भए अघिल्लो पटक सटही सुविधा लिएको वस्तु ढुवानी भएको ७ कार्यदिन व्यतीत भएपश्चात् मात्र पुनः सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार