काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या समाधान गर्न सके सरकार र मन्त्रालयको प्रभावकारीता देखिने बताएका छन् । मन्त्रालयमा सुक्रवार सरुवा भएर आएका सचिव अर्जुनप्रसाद पोख्रेललाई स्वागत र सचिवसहित मन्त्रालय मातहतका उच्च अधिकारी र बिभागीय प्रमुखलाई निर्देशन दिदैं मन्त्री अधिकारीले कर्मचारी प्रशासन र राजनीतिक नेतृत्व मिलेर अव जनताको अवस्था परिर्वतन गर्ने बेला भएको बताए ।
शुक्रबारै मन्त्रालयमा पदबहाली गरेका सचिव पोख्रेलले मन्त्रालयबाट प्रवाह हुने सेवामा परिणाम ल्याउने गरी काम गर्न र समस्या भए समस्याको समाधानतर्फ ध्यान दिन आग्रह गरे । सरकारको सोच र मन्त्री ज्युको निर्देशन अनुसार काम गर्ने सचिव पोख्रेलले प्रतिवद्धता ब्यक्त गरे । मन्त्री अधिकारीले मातहत निकायलाई ३ वटा विषयमा नतिजा आउने गरी काम गर्न निर्देशन दिए । भूमि क्षेत्रमा देखिएका समस्या समाधानका लागि ऐन, कानुन र नियामावलीको निमार्ण, संसोधन र परिमार्जन गरेर भए पनि स्थायीरुपमा भूमिहिन, किसान र सुकुम्वासी समस्या समाधान गर्ने गरी काम गर्न निर्देशन दिए ।
त्यसैगरी सहकारी क्षेत्रमा देखिएका विकृती हटाउनका लागि अधिकारसम्पन्न प्राधिकरण गठन र सहकारी पिडितको बचत फिर्ता मन्त्रालयको दोस्रो महत्त्वपुर्ण काम रहेको भन्दै मन्त्री अधिकारीले सहकारी समस्या समाधान गर्न सके मन्त्रालयप्रति नागरिकको विश्वास बढ्ने बताए । त्यसै गरी चीनमा भएको गरिवी उन्मुलनको सफलता नेपाललाई ठुलो पाठ हुन सक्ने भन्दै गरिव पहिचान र गरिवलाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तरमन्त्रालयसंग समन्वय गरेर नतिजा आउने गरी काम निर्देशन दिए ।