CLI

प्रधान सेनापतिद्वारा शिलान्यास तथा उद्घाटन

काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यमा खट्टिने नेपाली सेनाका सकलदर्जालाई प्रि-डिप्लोईमेण्ट तालिम दिने उद्देश्यले काभ्रेपलान्चोकको पाँचखालमा स्थापना भएको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रका रूपमा विकास गर्दै लैजाने योजना अनुरूप विभिन्न भौतिक संरचनाहरूको निर्माण कार्य भई रहेका छन् ।

यसै सिलसिलामा उक्त केन्द्रमा निर्माण गर्न लागिएको जवान लाइन र पदिक मेसको प्रधान सेनापति प्रभुराम शर्माले आज शक्रुबार शिलान्यास गरेका छन् । सोही अवसरमा उनले निर्माण सम्पन्न भएका अधिकृत मेस, पदिक मेस, जवान वासस्थान, जवान डाईनिङ्ग हल र बहु उपयोगी स्टोर भवनहरूको आजै उद्घाटन गरेका छन् । सो अवसरमा प्रधान सेनापतिले उक्त केन्द्रमा सञ्चालित तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गरे ।

२०४३ सालमा शान्ति सैनिकको रूपमा खट्टिने नेपाली शान्ति सैनिकहरूलाई तालिम प्रदान गर्न पाँचखाल तालिम शिविरको रूपमा स्थापना भएको उक्त तालिम केन्द्र २०५८ सालमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको रूपमा नामकरण भएको थियो । उक्त तालिम केन्द्रबाट विश्व शान्ति स्थापनार्थ विभिन्न संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्न संयुक्त राष्ट्र सङ्घमा आबद्ध देशका सैनिकहरू बिच विभिन्न समयमा संयुक्त तालिम तथा अभ्यासहरू समेत सञ्चालन हुँदै आई रहेका छन् ।

शिलान्यास तथा उद्घाटन समारोहमा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो ।

Leave Your Comment

Related News