वन लसुनबाट सात करोड आम्दानी

सिमकोट । दुई महिनायता वन लसुन संकलन गरेर संकलकले पौने सात करोड आम्दानी गरेका छन्। संकलकहरु सिमकोट गाउँपालिका– १ को चुवाँ खोला क्षेत्रको वनमा गएर वन लसुन संकलन गरेर सो आम्दानी गरेका हुन्।

उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले हुम्लाबाट २१ क्वीन्टल वन लसुन संकलन भएर किसानले ६ करोड ७२ रुपैयाँ आम्दानी गर्न सफल भएको बताए।

यसको मूल्य प्रतिकेजी ३२ हजार रुपैयाँमा संकलकले पाएका छन्। ब्यापारी पनि वन लसुन खरिद गर्न स्थलगत रुपमै पुगेका थिए।

अब सो सामान ढुवानी गरेर सिमकोटबाट चीनतर्फ लगिनेछ। यसको राजस्वसमेत प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ। यस पटक बन लसुनबाट संकलक र राज्यलाई राम्रो आम्दानी भएको उनको भनाइ छ।

सिमकोट गाउँपालिका– २ का धिरेन बोहराले यस वर्ष संकलकहरूले हालसम्मकै सबैभन्दा बढी वन लसुन संकलन गरेर आम्दानी गर्न सफल भएको बताए।

एक महिनामा उनले पाँच केजी वन लसुन संकलन गरेका छन्। यसबाट एक लाख ६२ हजार रुपैयाँ कमाइ गरेको र हाल पनि संकलन कार्य जारी छ।

अर्का संकलक ज्वाले रावलले पनि यसव र्ष हुम्लावासीले वन लसुन संकलन गरेर राम्रो आम्दानी गर्न सफल भएको बताए। उनले आफ्नो गाउँबाट मात्र पाँच सय जना वन लसुन संकलन गर्न गएको र प्रत्येकले तीनदेखि पाँच किलोसम्म संकलन गर्न सफल भएको बताए।

कम्तीमा पनि एक लाख रुपैयाँ कमाउन बन लसुन संकलन गर्न गएका स्थानीय सफल भएको भन्दै उनले यसका लागि जिल्लाका अन्य गाउँपालिका, मुगु, जुम्ला र बाजुरा जिल्लाबाट पनि संकलन गर्न आएको बताए। यसवर्ष कुल सात सय जना चुवाँ खोला क्षेत्रमा वन लसुन संकलनमा जुटेका छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार