विदेशी लगानीकर्तालाई धरौटी फिर्ता लैजान आग्रह

काठमाडौं । उद्योग विभागले विदेशी लगानीकर्तालाई विदेशी लगानी स्वीकृत हुँदा बुझाएको धरौटी रकम फिर्ता लैजाने आग्रह गरेको छ । विभागतले बुधबार सार्वजनिक सूचना जारी गर्दै विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताहरुले ऐन, नियमावलीमा तोकिएको समय भित्र लगानी भित्राई उद्योग सञ्चालन गरेको जानकारी सहित ३५ दिन भित्र विदेशी लगानी स्वीकृत हुँदा बुझाएको धरौटी रकम फिर्ता लैजान आग्रह गरिएको हो ।

धरौटी रकम फिर्ता लैजानको लागि विवरण खोलिएको माग निवेदन, उद्योग सञ्चालनमा आएको प्रमाण कर चुक्ता (शुन्य कारोवार आएमा मानिने छैन ), लगानी भित्राएको प्रमाण, उद्योग दर्ता प्रमाण, धरौटी रकम जम्मा गरेको सक्कल प्रति, लेखापरिक्षण प्रतिवेदन र कम्पनी अध्यावधिक पत्रहरु आवश्यक पर्ने सूचना अधिकारी अर्जुन सेन ओलीले जानकारी दिए ।

उनका अनुसार सो समय भित्र लगानीकर्ताहरुले स्वीकृत गरेका , लगानी भित्राएको प्रमाण तथा उद्योग सञ्चालनको जानकारी नगराएमा धरौटी रकम जफत गरिनेछ ।

नयाँ विदेशी लगानीकर्ताहरुले समेत उल्लेखित ऐन÷नियमावलीमा तोकिएको समय भित्रमा लगानी भित्राएई उद्योग सञ्चालन गर्न समेत आग्रह गरिर्एको छ । विदेशी लगानी भएका उद्योग वा विदेशी लगानीकर्ताहरुले पाउने छुट, सुविधा र सहुलियत (भिसा, विदेशी मुद्रा, जग्गा, औद्योगिक सुरक्षा, कर्मचारी) सम्बन्धमा तथा विदेशी लगानीकर्ताहरुलाई
लगानी भित्राउन था उद्योग सञ्चालन सम्बन्धमा कुनै किसिमको समस्या परेमा विभागसँग समन्वय गर्न समेत आग्रह गरिएको छ । समस्या भएमा विभागले सहजीकरण गरिने बताइएको छ ।

उद्योग सञ्चालनका लागि विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ तथा नियमावली, २०७७ मा तोकिएको समय भित्रमा लगानी भित्राई औद्योगिक व्यवसाय ऐन, २०७६ तथा नियमावली, २०७८ मा तोकिएको समय भित्रमा उद्योग सञ्चालन गर्न आग्रह गरिएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ३ को उपदफा ३ को अधिकार प्रयोग गरी नेपाल सरकारले २०७६ जेठ १५ गते विदेशी लगानीको न्युनतम सीमा प्रति लगानीकर्ता ५ करोड रुपैयाँ तोकेको थियो । उक्त मितिदेखि विदेशी लगानी गर्न पाउने जुनसुकै क्षेत्रहरुमा लगानीकर्ताहरुलाई त्यसभन्दा कम लगानी गर्न रोक लागेको थियो। तर आर्थिक वर्ष २०७९÷८० को बजेटमा विदेशी लगानीको न्युनतम सीमा पुनरावलोकन गरी २ करोड रुपैयाँ कायम गरिने उल्लेख छ। बजेटबाट प्रस्तावित २ करोडको न्यूनतम सीमा लगानीका विभिन्न क्षेत्रहरुमा आधारित नभइ सम्पूर्ण क्षेत्रहरुलाई एकै किसिमले लागू हुने गरी न्युनतम सीमा कायम गरिएको छ । विदेशी लगानी भित्राउनका लागि भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अन्तर्गत बनेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ ले भने विदेशी लगानीकर्ताले नेपालमा लगानीका लागि स्वीकृत रकममध्ये केही प्रतिशत १ वर्षभित्र ल्याउनुपर्ने व्यवस्था गरेको छ। साथै विदेशी लगानीकर्ताले स्वीकृत रकमको कम्तीमा ७० प्रतिशत आफूले लगानी गरेको उद्योग वा व्यवसायबाट उत्पादन वा कारोबार सुरु भएको २ वर्षभित्र लगानी गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार