कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने र आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बीमा इकाई स्थापना गर्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले गरीबी न्यूनीकरणका कार्यक्रमलाई बीमासँग आवद्ध गरेर अघि बढाउन र बीमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणसँग समन्वय गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए ।

उनले बीमितले बीमा कम्पनीहरूबाट समयमैं दाबी भुक्तानी पाउने सुनिश्चित गर्नका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सचेतना अभिवृद्धि र दायरा विस्तारका लागि प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताए ।

बीमा दाबी भुक्तानीलाई प्राधिकरणले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको र त्यसमा सरकार सकारात्मक रहेको जानकारी दिए ।

अध्यक्ष सिलवालले विद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश गर्नका लागि पहल गर्न आग्रह गर्दै कृषि तथा पशुपन्छी बीमामा देखिएका समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको स्पष्ट गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी समग्र विषयका साथै बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका मन्त्री तथा राज्यमन्त्री, प्रदेश मन्त्रालयका सचिव, सहसचिव लगायत कर्मचारी, विभिन्न निकायका प्रतिनिधि, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालयका प्रमृखहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार