हनिमुन पिरियडमा शेयर बजार, बजारमा साँढे पसेकै हो!

निर्दोष घोरसाइने

काठमाडौं । करिब तीन वर्षदेखि शिथिल रहेको नेपालको शेयर बजार सत्ता समीकरण परिवर्तनको चर्चासँग जुरमुराउन थालेको छ। असार १६ गते २०३७.०९ विन्दुमा रहेको नेप्से परिसुचक करिब ढेड महिनाको अवधिमा ८२३.७५ अंकले बढेर आइतबार २८६०.८४ अंकमा आईपुगेको छ। आइतबार शेयर बजारको ३१ वर्षको इतिहासमा सर्वाधिक २५ अर्ब ७८ करोड रुपैयाँ कारोबार भएको छ। यस अवधिमा २१ अर्ब रुपैयाँभन्दा बढी रकमको शेयर किनबेच जम्मा ७ पटक भएको थियो । पछिल्लो दुई हप्ताको अवधिमा मात्रै ५ पटक २१ अर्ब रुपैयाँभन्दा बढीको करोबार भएको छ।

साउन १६ गते २१ अर्ब ७१ करोड, साउन १७ गते २१ अर्ब ४८ करोड, साउन २१ गते २१ अर्ब ६९ करोड, साउन २२ गते २३ अर्ब ५० करोड, २०७८ भदौ २ गते २१ अर्ब ३१ करोड ३४ लाख र २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

दैनिक रुपम कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेसँगै शेयर बजारमा हनिमुन पिरियडमा रहेको आभाष हुन थालेको छ। २०७८ भदौ २ गते नेप्से सूचक ३१९९.०३ अंकमा रोकिएको थियो। यद्यपि, त्यसदिन ’इन्ट्रा डे’ कारोबारमा ३२२६ सम्म चढेको थियो। त्यसपछि घटेको बजारले २०७९ असार १० गते १८०६.९५ अंक छोएको थियो। त्यस यता लामो समय शिथिल अवस्थामा रहेको एको शेयर बजार २०८१ असार १७ बाट भने निरन्तर उकालो लागिरहेको छ। सँगै कारोबार रकममा पनि उच्च वृद्धि भइरहेको छ।

शेयर बजारमैत्री अर्थमन्त्री

सत्ता परिवर्तन शेयर बजारका लागि आगोमा घ्यू सरह भएको छ। लामो समयदेखि १८ सय २ हजार विन्दुमा रुपलिएको शेयर बजारमा एकाएक चकम देखिएको छ। प्रमुख सत्ता साझेदार नेकपा एमालले नेकपा मोओवादीसँगको सत्ता साझेदारी अन्त्य गरेर आफ्नो नेतृत्वमा नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने चर्चासँग शेयर बजारमा बहारको प्रवाह भएको थियो।

माओवादी–एमाले गठबन्धन टुटेर एमाले–काँग्रेस मिलेर बन्ने नयाँ सरकारको नेतृत्व एमालेले गर्ने चर्चा थियो। सत्ता साझेदारहरु बीच प्रमुख मन्त्रालयको रुपमा प्रधानमन्त्री, अर्थ र गृह मन्त्रालय रहने गर्छ। प्रमुख सत्ता घटकहरुले शक्ति सन्तुलनका लागि अर्थ र गृह मध्ये एक/एक पद आपसमा बाँड्छन्। निवर्तमान सरकारमा भने यसलाई अपदावको रुपमा लिन सकिन्छ।

नयाँ सरकारको नेतृत्वसँगै अर्थमन्त्रालय एमाले र गृह काँग्रेसको भागमा पर्यो। यस अघि चार पटक अर्थमन्त्री भइसकेका विष्णु पौडेलले नयाँ सरकारको अर्थमन्त्रालयको बागडोल सम्हालेका छन्। पौडेल शेयर बजारका लगानीकर्ताले पत्याएका तथा विश्वास गरेको अर्थमन्त्रीका रुपमा परिचित छन्।

एमालेको नेतृत्वमा सरकार बन्ने र त्यसमा पनि अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने सम्भावनासँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता एसपी चौलागाई बताउँछन्।

पौडेलका अघिल्ला कार्यकाल पनि शेयर बजार लक्षित नीतिगत सुधार गरेको भन्दै विशेषगरी लगानीकर्ताहरु सकारात्मक सद्भाव राख्छन्। । पौडेल यसअघि चार पटकसम्म अर्थमन्त्री हुँदा उनको कार्यकालमै शेयर बजारले नयाँ उचाई चुमेको रेकर्डहरु पनि छन्। सोही कारण पनि पौडेल शेयर बजारका लागि खास अर्थमन्त्रीको रुपमा चिनिन्छन् । उनले २०७३ साल साउन ५ गते आफनो कार्यकालमा ब्रोकर कमिशन घटाएका थिए। सो निर्णय गरेको एक सातामै नेप्से इन्डेक्स १८८१.४५ को विन्दुमा कायम भएर नयाँ रेकर्ड राखेको थियो। त्यसपछि पनि उनले ३३ प्रतिशतसम्म ब्रोकर कमिशन घटाएका थिए । त्यस बखत पनि शेयर बजारमा उत्साह छाएको थियो।

नेपालको शेयर बजारमा भएका धेरै नीति तथा कीर्तिमानी सुधारमा अर्थमन्त्री पौडेलको भूमिका महत्त्वपूर्ण रहने गरेको लगानीकर्ताहरु बताउँछन्।

पछिल्लो पटक २०७९ पुसमा चौथो कार्यकालका लागि अर्थमन्त्रीका रुपमा पौडेल आउँदा पुन शेयर बजारमा केहि सकारात्मक हलचल आएको थियो। उक्त समय १८ सयको विन्दुमा रहेको इन्डेक्स २२७७ सम्म पुगेको थियो।

अन्य अर्थमन्त्रीको तुलनामा शेयर बजार प्रति सकारात्मक रवैया अपनाउने र लगानीकर्तालाई समय दिएर गुनासो सुन्नुका साथै नीतिगत सुधार गर्न पनि पछि नपर्ने भएकाले शेयर बजारले पौडेललाई अर्थमन्त्रीको रुपमा स्वागत गर्ने गरेको एसपी चौलागाई बताउँछन्।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शेयर बजारका विषयमा सकारात्मक वक्तव्य दिइरहेका छन्। नेपाली राजनीतिका चतुर खेलाडीका रुपमा रहेका प्रधानमन्त्री ओलीको नजर २०८४ सालको निर्वाचन छ। शेयर बजारको पक्षमा सकारात्मक भाव र उत्साह पैदा गराउने अभिव्यक्ति दिएर उनी लगानीकर्ताहरुको मत आफ्नो पार्टीमा ल्याउने अभियानमा छन्। हाल नेपालमा शेयर कारोबार गर्न ६३ लाख ५५ हजारले डिम्याट खाता खोलेका छन्।

कार्यकर्ता गभर्नर

अर्थमन्त्री पौडेल लगानीकर्ताका खास व्यक्ति भए पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने लगानीकर्तामैत्री हुन नसकेको आरोप छ। २०७८ सालको ३२०० सयको बुल गभर्नर अधिकारीका कारण लामो समयसम्म टिक्न नसकेको लगानीकर्ताहरुको गुनासो छ। उनले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति मार्फत असिमित शेयर धितो कर्जा सुविधा खारेज गरिदिए। तत्कालीन समयमा व्यक्तिगत शेयर धितो कर्जा अधिकतम ४ करोड र संस्थागतमा १२ करोड रुपैयाँ तोकियो। उक्त मौद्रिक नीति पछि हालसम्मको उच्चतम विन्दुमा पुगेर बजारले रिभर्स गियर लियो। यससँगै गभर्नर अधिकारीलाई शेयर बजार विरोधीको ट्याग भिर्न पुगे। लगानीकर्ताहरुले त उनको राजीनामा माग गर्दै आन्दोलन पनि गरेका थिए। पछि आव २०८०/८१ तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतको दबाव र चर्को आलोचनाका कारण उनले शेयर धितो कर्जा सीमा व्यक्तिगत तर्फ १५ करोड र संस्थागत तर्फ २० करोड रुपैयाँ पुर्याए।

अहिले भने स्थीति फरक छ। यो अधिकारीको गभर्नरको पहिलो कार्याकालको अन्तिम मौद्रिक नीति हो। साथै उनलाई गभर्नर पाउने राजनीतिक दलको नेतृत्वमा सरकार गठन भएको छ।

आफ्नो कार्याकाल अवधिभर शेयर बजार विरोधीको ट्याग पाएका अधिकारीले गत आवको मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत नै सकारात्मक नीतिगत सुधार गर्ने संकेत देखाइसकेका थिए। समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरियो। यस अघि प्राथमिक पुँजीको एक प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था थियो। उक्त व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गरेर नाफा कमाउने बाटो प्रथस्त गर्यो। अर्को अर्थमा भन्दा उनीहरुलाई ट्रेडरको लाइसेन्स मिल्यो।

गभर्नर अधिकारी माथि एमालेको कार्यकर्ता भएको आरोप छ। उनी एमाले सरकार पालाको गभर्नर हुन्। साथै एमालले २०७९ असारमा जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि)मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटङ’ को नाम उल्लेख थियो। धेरैले एम अधिकारीलाई महाप्रसाद अधिकारी भएको दाबी गर्दै आएका छन्। तर गभर्नर अधिकारीको घर खोटाङ भएकाले पनि एम अधिकारी महाप्रसाद अधिकारी नै हुन् भन्ने आकलन गरिएको थियो। यस विषयमा हालसम्म गभर्नर अधिकारी र एमालले पनि स्पष्ट जवाफ दिएका छैनन्। अधिकारीले एमाले सरकारमा हुँदा गर्ने व्यवहार र प्रतिपक्षमा हुँदा गर्ने व्यवहारले पनि एम अधिकारी को हुन् भनेर अट्कल लगाउन कठिन हुँदैन।

चालु आवको मौद्रिक नीति जारी हुँदासम्म एमालेको नेतृत्वमा सरकार गठन भइसकेको थियो। विगतमा लगानीकर्ताको तारो मौद्रिक नीति ल्याउन अग्रस अधिकारी एमालेको पालमा लगानीकर्तामैत्री मौद्रिक नीति ल्याउन सफल भएका छन्।

पैसा कहाँबाट आयो

पछिल्लो दुई सातामा ४ पटक २१ अर्ब रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। कीर्तिमानी रकममा करोबार हुँदा लगानीकर्ताहरु हौसिएका छन्। ढेड महिना अघिसम्म दैनिक २ देखि ५/६ अर्ब रुपैयाँ कारोबार हुने गरेको थियो। अहिले दिन पिच्छे कारोबार रकमले नयाँ रेकर्ड बनाइरहेको छ। नयाँ, पुराना र विदेशमा रहेका नेपालीहरु बजारमा प्रवेश गर्दा कारोबार रकमको नयाँ नयाँ कीर्तिमानी बनेको लगानीकर्ता चौलागाई बताउँछन्।

‘अघिल्लो बुलमा बजारबाट बाहिरिएकाहरु मौकाको प्रतिक्षामा थिए। सत्ता समीकरण परिवर्तनसँगै शेयर बजार प्रति हेरिने दृष्किोण परिवर्तन हुन पुग्यो। यही मौका उनीहरु बजार प्रवेश गरे। बजार बढेसँगै नयाँ लगानीकर्ता पनि आएका छन्। पछिल्लो समय शेयर कारोबार अनलाइनबाट हुन्छ,’ चौलागाईले भने, ‘वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि कारोबार गर्न रोकटोक छैन।’ नयाँ, पुराना र अनुभवि खेलाडीहरु एकै पटक प्रवेश गर्दा शेयर बजारमा रौनक पैदा भएको उनी बताउँछन्।

शेयर धितो कर्जाको सीमा हटेसँगै संस्थागत लगानीकर्ताहरुले थप कर्जा लगानी बढाएका छन्। साथै यो अघिल्लो बुलको रिकभरी पनि भएकाले लगानीकर्ताहरु लगानी गर्न थप हौसिएका छन्।

करेक्सन आवश्यक

नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे हालको बुल बजार सुरुवाती चरणको भएको बताउँछन्। त्यसैले शेयर बजारमा करेक्सनको आवश्यक छ। ‘करेक्सन बिना बजार निरन्तर अघि बढ्छ भन्ने हुँदैन। आइतबार २८ सयको मनोवैज्ञानिक विन्दु पार गरेर माथि जाँदा अझै पनि करेक्सन माग गरेको देखिँदैन,’ रजौरेले भने, ‘बजारले अझै उचाई लिन्छ।’ तर ३२ सय विन्दु अघि एउटा करेक्सन आउने उनको बुझाई छ। तर उक्त करेक्सन ठूलो विन्दुको नहुने उनको दाबी छ। उक्त करेक्सन पछि यदि बजारले ३२ सयको विन्दु पार गर्न सकेको खण्डमा ८/९ महिना बजार बुल चरणमा रहने सम्भावना हुन्छ।

शेयर बजारका पुराना लगानीकर्ता मध्ये एक रजौरेले यस अघि पाँच वटा बुलको अनुभव सँघालेका छन्। बजार करेक्सन हुँदै माथिल्लो विन्दुमा पुगेको उनीसँग अनुभव छ। हाल धेरै ठूलो करेक्सन बिना बजार अघि बढी रहेको छ। गत मंगलबार बजारमा १४५ अंकको करेक्सन आएको थियो। तर पछिल्ला तीन कारोबारले उक्त करेक्सनलाई पछि छोडिसकेको छ। बजार थप ५६ अंकले माथि पुगिसकेको छ। अर्को करेक्सन ३ हजार विन्दु पछि मात्र हुन सक्ने उनको आँकलन छ।

विगतको ट्रेड हेर्दा पनि निरन्तर बजार क्र्यास भएको थिएन। नेप्से सूचक तल माथि हुँदै १८ सयको विन्दुमा आएको थियो। ३२ सय विन्दु बजार बजारमा आएको क्र्यासलाई उनी प्राकृति मान्दैनन्। त्यसलाई बलपूर्वक तल झारिएको उनको भनाइ छ।

जिम्मेवार निकायमा बसेका व्यक्तिहरुले बजारका विषयमा अनावश्यक टिकाटिप्पणी नगर्ने हो भने मात्र हलको बुल लामो समयसम्म टिक्ने उनको भनाइ छ। शक्तिशाली सरकार र सरकारकै पक्षधरहरु नियामक निकायमा रहेकाले बजारमा नकारात्मक प्रभाव पर्ने किसिमका गतिविधि तत्कालन नहुनेमा उनी आशावादी देखिन्छन्।

किन्नु अघि बिक्रीको योजना बनाउन आवश्यक

बुल बजारमा लाभ र जोखिम दुबै समान रहन्छ। पुँजी बजारमा प्रवेश गर्नु अघि कस्तो प्रकारको लगानी (दीर्घकालीन वा ट्रेडिङ) गर्ने भन्ने विषयमा लगानीकर्ता पहिलै प्रस्ट हुनु पर्ने नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी बताउँछन्।

शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेरिन्छ। तर नेपालको हकमा यसलाई शतप्रतिशत मान्न सकिन्न। मुलुकको अधिकतम जनसंख्या कृषिमा आश्रित रहे पनि पुँजी बजारमा प्रतिनिधित्व हुन सकेको छैन। मुलुकको अर्थव्यवस्थामा व्यापक सुधार भएकाले पुँजी बजार उधो गतिमा लागेको हैन। सरकारको नेतृत्वकर्ताले पुँजी बजारलाई सकारात्मक दृष्टि राख्दा यस्तो भएको हो।

ट्रेडर हाबी हुँदा त्यसको प्रभाव बजारमा देखिएको हो। यो समय दीर्घकालीन भन्दा पनि छोटो अवधिको कारोबारका लागि उपयुक्त मान्न सकिने गिरी बताउँछन्। ‘दीर्घकालीन लगानीको कुनै निश्चित समय हुँदैन,’ गिरीले भने, ‘आफूसँग बचत छ भने त्यो रकम जुन सुकै समय लगानी गर्न सकिन्छ। आधारभूत रुपमा सबल कम्पनीमा दीर्घकालीन लगानी गरिन्छ। मूल्य जति भए पनि यस्ता कम्पनीले वार्षिक रुपमा निरन्तर प्रतिफल दिन्छन्। नियमित प्रतिफलले लगानीकर्ताको नोक्सानी पुर्ति गर्छ।’

नेपालमा दीर्घकालीन लगानीका लागि बजार पुँजीकरण धेरै भएका बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीलाई लिने गरिन्छ। यी कम्पनीहरुको शेयर संख्या धेरै हुने भएकाले बजारमा हुने उतारचढावले ठूलो प्रभाव पार्दैन। त्यसैले यस्ता कम्पनीहरु ट्रेडरहरुको प्राथमिकतामा विरलै पर्छ। कम बजार पुँजीकरण र शेयर मूल्य थोरै भएको कम्पनीहरु ट्रेडरका प्यारा हुन्छन्।

त्यसैले यस्ता कम्पनीमा लगानीकर्ता जोखिम र लाभ दुबै सम्भावना प्रबल रहन्छ। ट्रेडिङ गर्दा पनि लगानी विविधिकरण गर्न गिरी सुझाउँछन्। ‘ट्रेडरहरुको आफ्नै फण्ड हुन्छ। त्यो साधारण लगानीकर्ताले बुझ्न सक्दैनन्। बजारमा छिर्नु अघि नै निस्कने बाटो तय गर्नु पर्छ। आज बढेको शेयर भोलि घट्न सक्छ। राम्रो प्रतिफल दिने कम्पनीको शेयर मूल्यमा आज उतारचढाव आए पनि आगामी दिनको लाभांशले त्यसलाई पुर्ति गर्छ,’ गिरीले भने।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार