नेपाललाई ग्लोबल टेक हबको रुपमा विकास गर्न, नास आईटी अवार्ड्स २०२४

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको हो। ।

नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न नास आईटी अवार्ड्स आयोजना हुन लागेको हो ।

नेपाललाई ग्लोबल टेक हबको रुपमा विकास गर्न नास आईटी अवार्ड्स आयोजना गरिएको नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले बताए। यस अवार्ड्स मार्फत नेपालका स्टार्टअप तथा इनोभेसनले अन्तर्राष्ट्रिय प्लेटफर्ममा क्षमता प्रदर्शन गर्न सक्छन्। सरकारले चालु आवको बजेटमा सूचना प्रविधि दशकको रुपमा घोषणा गरेको छ। यस अवधिमा ३० खर्बको आईसी निर्यात गर्ने महत्त्वकांक्षी लक्ष्य राखेको छ।

‘सरकारले लिएको लक्ष्यलाई साकार पार्न नेपाली प्रोडक्टलाई अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता छ। यस अवार्ड्सले नेपाली आईटी उद्यमीलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्छ,’ श्रेष्ठले भने।

नास आईटीकी कार्यकारी सदस्य प्राथना साखले अवार्ड्सको सम्बन्धमा जानकारी दिँदै नेपालमा दर्ता भएका कम्पनीले आफ्नो आईटी उत्पादन मार्फत सहभागिता जनाउन सक्ने बताइन्।

अवार्ड ११ विधामा प्रदान गरिने छ । बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एण्ड वेल बिङ, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका वि‌द्यार्थीका परियोजना, स्टार्टअप र इन्नोभेसनहरूले अवार्डमा आवेदन दिन सक्ने छन् ।

यस अवार्ड्सको आवेदन शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ। तर विद्यार्थीका परियोजनाका हकमा भने एक हजार रुपैयाँ तिरेर आवेदन दिन सक्ने नास आईटीले जानकारी दिएको हो।

नास आईटी अवार्ड्स २०२४ मा आगामी भदौ ३ गतेसम्म यहाँ क्लिक गरेर अनलाइन आवेदन दिन सकिने छ ।

डिसेम्बर २०२४ मा ब्रुनाईमा आयोजना हुने प्रतिष्ठत एसिया प्यासिफिक आईसिटी अलायन्स (एपिक्टा) अवार्ड्समा नास आईटी अवार्ड्सको विजेताले सहभागिता जनाउने छन्। नास आईटी अवार्डको ग्राण्ड फिनाले सेप्टेम्बर २७ मा हुनेछ ।

नास आईटी अवार्ड्सले नेपालको प्रविधि क्षेत्रलाई विश्वसामु चिनाउन मद्दत गर्ने नास आईटीकी उपाध्यक्ष सन्तोष कोइरालाले बताए । ‘एपिक्टा अवार्ड्समा सहभागिता मात्र जनाउने लक्ष्य हैन। उक्त अवार्ड्स जित्ने लक्ष्य सहित नेपाल सहभागि हुनु पर्छ,’ कोइरालाले भने, ‘त्यसका लागि अधिक भन्दा अधिक इनोभेसन आईडियामा काम गरिरहेकाहरुको सहभागिता आवश्यक भएको उनले बताए।

विगत २३ वर्षदेखि एपिक्टा अवार्ड्सले एशिया प्यासिफिक क्षेत्रमा आइसिटी प्रडक्ट तथा इन्नोभेसन शोकेस गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको छ ।

यस वर्ष एपिक्टा अवार्डमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम गरी १७ देशबीच प्रतिस्पर्धा हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार