CLI

१४ हजार फिटमा रहेको गोसाइँकुण्ड जानेलाई स्वास्थ्य शिविर सेवा दिइने

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड तीर्थस्नान गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्योपचारका लागि बाटोमा पर्ने विभिन्न पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

समुद्री सतहदेखि १४ हजार एक सय फिट उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न जाने भक्तजनको स्वास्थ्यलाई ख्याल गरी अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हिमालय उद्धार सङ्घले जनाएको छ । सदरमुकाम धुन्चेस्थित शिवमन्दिर चोकमा सञ्चालन हुने शिविरमा तीर्थयात्रुको प्राथमिक तहको स्वास्थ्य परीक्षण गरी गोसाइँकुण्ड जाने बाटोअन्तर्गत मिनी गोसाइँकुण्ड, चोलाङपाटी, लौरिविनायक र गोसाइँकुण्डमा आवश्यकताअनुसार स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिए । स्थानीय जिल्ला रेडक्रस र आयुर्वेदिक संस्थाले मिनी गोसाइँकुण्ड, नेपाली सेनाले चोलाङपाटी, गोसाइँकुण्ड गाउँपालिकाले लौरीविनायक र हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा अक्सिजनसहित स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष डिएमले बताए । भक्तजनलाई स्वास्थ्य सेवा प्रदान गर्न भनी हिमालय उद्धार सङ्घका सात सदस्यीय चिकित्सकको समूह लौरीविनायक पुगिसकेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

जनैपूर्णिमा पर्वका अवसरमा साढे तीन करोडभन्दा बढी देवीदेवताको गोसाइँकुण्डस्थित नीलकण्ठ दहमा बास हुने भएकाले एक साथ सबैको दर्शन मिल्ने जनविश्वाससहित तीर्थस्नान एवं पूजाआजाका लागि जोखिम मोलेर त्यसतर्फ भक्तजन जाने गरेको भन्ने शास्त्रीय मान्यता रहिआएको छ ।

Leave Your Comment

Related News