काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टचार मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले रेग्मीले स्रेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टचार मुद्धा दायर गरेको हो ।
रेग्मीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १ को उपदफा (१) बमोजिमको कसूरमा विगो २० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो ।
अख्तियारले सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस ÷रिसवत लिइसकेको अवस्थामा न्युज २४ को समाचार टोलीले खिचिएको श्रव्यदृष्यसमेत रहेको भन्ने उजुरी निवेदनको आधारमा उनलाई पक्राउ गरेको थियो ।