एनटीसी र एनसेलको ‘डुओपोली’ तोड्ने योजनामा सरकार, तेस्रो मोबाइल अपरेटर आउँदै

निर्दाेष घोरसाइने 

काठमाडौं । नेपाल टेलिकम र एनसेलको ‘डुओपोली’ तोड्ने योजनामा सरकार अग्रसर भएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो मोबाइल सेवा प्रदायक ल्याउने योजना अघि सारेको छ। दूरसञ्चार प्राधिकरणले प्रस्ताव गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा नयाँ टेलिकम अपरेटर ल्याउन आवश्यक अध्ययन गरिने उल्लेख छ। हाल प्राधिकरणको बजेट स्वीकृतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेश गरिएको छ।

तेस्रो मोबाइल अपरेटरका सम्बन्धमा प्राधिकरणले अध्ययन गर्ने तयारी गरिरहेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

नेपाली दूरसञ्चार बजारमा हाल नेपाल टेलिकम (एनटीसी) र एनसेल मात्र सञ्चालनमा रहेका छन्। दुई सेवा प्रदायकले मात्र सेवा प्रदान गर्दा हाल टेलिकम क्षेत्रमा डुओपोली अर्थात द्वयधिकार कायम छ।

‘उपभोक्तालाई सस्तो र गुणस्तरिय दूरसञ्चार सेवा उपलब्ध हुने वातावरण सिर्जना गर्नु नियामकको दाहित्व हो। दुई कम्पनीबाट मात्र यो सम्भव हुन सकेन। नयाँ टेलिकमको सम्बन्धमा अध्ययन हुनेछ। उक्त अध्ययन प्रतिवेदनको आधारमा तेस्रो अपरेटर आउने नआउने तय हुन्छ,’ पौडेलले भने।

एनटीसी र एनसेलको डुओपोली तोड्न तेस्रो मोबाइल अपरेटर आवश्यक रहेको भन्दै प्राधिकरणले २०८० असारमा नेपालमा मोबाइल सेवामा फ्रिक्वेन्सी प्रयोगको वर्तमान अवस्था र भावी योजना सम्बन्धी अवधारणा पत्र/स्वेत पत्र सार्वजनिक गरेको थियो।

मोबाइल सेवामा डुओपोली हुँदा प्रतिस्पर्धा कम हुनुका साथै पछिल्लो समय यसको प्रभाव गुणस्तरमा पनि झल्किएको प्रतिवेदनमा उल्लेख छ।

प्रचलित कानुनका आधारमा नयाँ सेवा प्रदायकलाई मोबाइल अपरेटरको रुपमा सेवा सञ्चालन गर्न असम्भव छ। यस विषयलाई मध्यनजर गर्दै प्राधिकरणले फ्रिक्वन्सी अक्सनका आधारमा लाइसेन्स दिने स्वेत पत्रमा उल्लेख छ। हाल दूरसञ्चार सेवाका लागि लाइसेन्स भएका संस्थाले मात्र फ्रिक्वेन्सी प्राप्त गर्न सक्ने व्यवस्था छ।

अक्सनको बिजेताले स्पेक्ट्रमका साथै मोबाइल ब्रोडब्यान्ड सेवा प्रदायकको लाइसन्स प्राप्त गर्ने श्वेत पत्रमा उल्लेख छ। यस्तो सेवा प्रदायकले प्राधिकरणले आजको मितिसम्म खुल्ला गरेको कुनै पनि सेवाका लागि योग्य (लाइसेन्स) हुनेछ।

नेपालमा तेस्रो टेलिकम अपरेटर नियामक भन्दा पनि उपभोक्ताका लागि आवश्यक भएको प्राधिकरणका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन्। हाल सञ्चालनमा रहेका दुई सेवा प्रदायकबाट उपभोक्ताले सेवा छनोट गर्नु पाउनु भएको छ कि छैन, सेवाबाट सन्तुष्ट हुनु भएको छ कि छैन। सबै किसिमका सेवा उपयोग गर्न पाइएको छ कि छैन भन्ने विषय उपभोक्तामा निहित रहेको उनको भनाइ छ।

‘बजारको सिद्धान्तले पनि मनोपोली, डुओपोली र त्यस पछि मात्र प्रतिस्पर्धा भन्छ। अहिलेको सेवा प्रतिस्पर्धात्मक हैन। यो डुओपोली हो। मोनोपोली भन्दा पनि डुओपोली खतरा हो,’ उनले भने। यस्तो खतरालाई मध्यनजर गरेर प्राधिकरणले स्वत पत्र मार्फत तेस्रो मोबाइल अपरेटको आवश्यकता औल्याएको उनको दाबी छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार