सरकारी वित्त पौन ४ खर्बले घाटामा

काठमाडौं । राष्ट्र बैंकका अनुसार बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त गत आर्थिक वपर्षमा करिब पौन ४ खर्ब रुपैयाँले घाटामा रहेको छ । आइतबार राष्ट्र बैंकले गत आर्थिक वर्षको मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०८०/८१ मा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति ३ खर्ब ८२ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष २०७९/८० को सोही अवधिमा सरकारी वित्त स्थिति ४ खर्ब ९१ अर्ब ७८ करोड रुपैयाँले घाटामा रहेको थियो।

खर्च तथा राजस्व
नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपाल सरकारको कुल खर्च १४ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा यस्तो खर्च १४ खर्ब ०८ अर्ब २ करोड रुपैयाँ रहेको छ । जसमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था वापतको खर्च क्रमशः ९ खर्ब ५१ अर्ब ६४ करोड रुपैयाँ , १ खर्ब ९१ अर्ब ७५ करोड रुपैयाँ र २ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) १० खर्ब ५८ अर्ब
९० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ९ खर्ब ५७ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो। आर्थिक वर्ष २०८०/८१ मा अन्य प्राप्तिसमेत गरी नेपाल सरकारले १० खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ स्रोत परिचालन गरेको छ ।

ऋण परिचालन

आर्थिक वर्ष २०८०÷८१ मा नेपाल सरकारले २ खर्ब ३४ अर्ब ४२ करोड रुपैयाँ आन्तरिक ऋण
परिचालन गरेको छ भने १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा ५१ अर्ब ८० करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ०.९ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले १ खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ वाह्य ऋण परिचालन गरेको छ । २०८१ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । जसमध्ये, वाह्य ऋण १२ खर्ब ५२ अर्ब ३४ करोड रुपैयाँ र आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२.६५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४२.९९ प्रतिशत रहेको थियो ।

नगद मौज्दात
२०८१ असार मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा ९९ अर्ब २७ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।

प्रदेश सरकार
आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको बैंकिङ्ग कारोबारमा आधारित कुल खर्च १ खर्ब ८४ अर्ब २ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति रु.१९२ अर्ब ९५ करोड रुपैयाँरहेको छ । यसमध्ये नेपाल सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब ४५ अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट ४७ अर्ब ८६ करोड रुपैयाँ परिचालन गरेका छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार