४६.६ प्रतिशतले बढ्यो चीनतर्फको निर्यात व्यापार

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक व्यापारको क्रममा चीनतर्फको निर्यात व्यापार बढेको बताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उक्त कुरा बताइएको हो । प्रतिवेदन अुनरुप आर्थिक वर्ष २०८०÷८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ३.३ प्रतिशत र ४.३ प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा वर्षमा कुल वस्तु आयात १.२ प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.० प्रतिशत र १७.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

निर्यात आयात व्यापार घाटा
निर्याततर्फ भैरहवा, जलेश्वर, कृष्णनगर, मेची, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ  सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले कमी आई १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तोघाटा १५.५ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा भारतबाट परिवतर्य  विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५१ अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात १ खर्ब ५४ अर्ब ४२ करोड बराबरको भएको थियो ।

वैदेशिक व्यापारको संरचना
वृहत्त आर्थिक वर्गीकरण अनुसार आर्थिक वर्ष २०८०÷८१ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.४ प्रतिशत र ४२.९ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.७ प्रतिशत, ०.७ प्रतिशत र ४४.६ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८.८ प्रतिशत, पुँजीगत वस्तुको ९.७ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ५३.२ प्रतिशत, ८.४ प्रतिशत र ३८.३ प्रतिशत रहेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार