१३ अर्ब नाफा कमाएको प्राधिकरणको आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा कति छ लगानी ?

काठमाडौं । गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड नाफा कमाएका नेपाल विद्युत प्राधिकरण आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा लगानी बढाएको छ । यसै क्रममा प्राधिकारणले गत आर्थिक वर्षसम्म अर्थात् विगत आठ वर्षमा आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढी रकम लगानी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको गत आर्थिक वर्षसम्मको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

निर्देशक घिसिङले आम्दानी बढाउँदै लगेको प्राधिकरणले प्रसारण लाइन मात्र होइन, विद्युत उत्पादनमा पनि लगानी बढाएको बताएका छन् । प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी, रोलवालिङ २० मेगावाटका आयोजनाहरु निर्माणाधीन छन् । प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका आयोजनाहरु सञ्चालनको अन्तिम चरणमा छन् । चिलिमे जलविद्युत कम्पनीले करिव ३०० मेगावाटका थप जलविद्युत आयोजनाहरु अगाडि बढाएको छ ।

४२ मेगावाटको माथिल्लो मोदी ’ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौको निर्माण सुरु भएको छ । एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरु वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका छन् । दुवै आयोजनाहरको निर्माण पूर्वका तयारीका कार्यहरु भइरहेका छन् । ६८३ मेगावाटको सुनकोशी – ३ जलाशययुक्त जलविद्युत आयोजनालाई भने नेपाल र बंगलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको छ । त्यस्तै दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रुपमा अगाडि बढाउन सकिने १० हजार ८०० मेगावाटको कर्णाली (चिसापानी) बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु गरिएको छ । दैनिक माग र आपूर्ति बीचको उतारचडावलाई व्यवस्थापन गरी प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन देशका विभिन्न ठाउँमा करिव ४२ हजार मेगावाटका पम्प स्टोरेज जलविद्युत आयोजनाहरुको पहिचान गरी केही उत्कृष्ट आयोजनाहरुको थप अध्ययन अगाडि बढाइएको छ ।यसरी प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा लगानी गर्दै आएको बताएको छ ।

त्यस्तै विगत आठ वर्षमा मात्र प्राधिकरण करिव १ खर्ब रुपैयाँ पूँजिगत लगानी गर्न सक्षम भएको छ । साथै विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । यसबाट प्रष्ट छ संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन यो त आन्तरिक रुपमा लगानीका लागि एउटा बलियो स्रोत समेत रहेका प्राधिकरणले दाबी गरेको छ ।

त्यस्तै प्राधिकरणको आम्दानी १ खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको दाबी गरिएको छ । देशभरी रहेको जग्गाहरुको एकिन गरी करिव ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिव ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले प्राप्त गरेको आर्थिक उपलब्धिहरुमा अन्तराष्ट्रिय संघ संस्थाको समेत सहयोग रहेको बताएको छ । प्राधिकरणले गरेका आर्थिक उपब्धिहरु नेपाल सरकार र हाम्रा विकास सहयोगी नियोगहरुको निरन्तरको सहयोग र सद्भावले मात्र सम्भव भएको छ । विश्व बैंक, एसियाली वकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपेली युनियन, युरोपेली लगानी बैंक (इआइबी), एशियन इन्फ्रस्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (ए.आई.आई.बि.), केएफडब्लु, नविजियन सहयोग नियोग, साउदी फण्ड, ओपेक फण्ड, यु. यस.एड., एक्जिम बैंक इन्डिया, एक्जिम बैंक कोरिया, एक्जिम बैंक चाईना जस्ता सहयोगी नियोगहरुको नेपालको ऊर्जा क्षेत्रको विकासमा अत्यन्त महत्वपूर्ण योगदान रहेको छ । भविष्यमा अझ ठूलो सहयोगको अपेक्षा लिएका प्राधिकरणले जनाएको छ । निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत बन्दै आएको प्राधिकरणले आफ्नो पूँजिको तत्कालका लागि १० प्रतिशत सेयर आमसर्वसाधारणलाई निश्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढेको पाउन सक्छाौं । विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरेको समेत प्राधिकरणले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार