१ महिनामा व्यापार घाटा १ खर्ब १६ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँको घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले  १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा  १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको हो ।

विभागका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने निर्यात नौ दशमलव ६३ प्रतिशतले घटेको छ । गत साउन महिनामा नेपालले भारतसँग मात्र  ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ ।

चालु आवको पहिलो महिना भारतबाट  ७७ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ बराबरको आयात हुँदा  ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको निर्यात भएको हो । नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर छ । गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाख रुपैयाँको आयात हुँदा १५ करोड ७६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो । कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ ।

चालु आवको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३ मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार रुपैयाँ बराबर व्यापार नाफा देखिएको हो । अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ ।

नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । गत एक महिनामा मात्र नेपालले  ६ अर्ब ९८ करोड ७१ लाख बराबर रुपैयाँको डिजेल, ५ अर्ब ६९ करोड ३५ लाख बराबर रुपैयाँको पेट्रोल  ४ अर्ब ८२ करोड ६६ लाख बराबर रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ । त्यस्तै, साउनमा ३ अर्ब ४६ करोड ६३ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भने कार्पेट, चिया, स्टील, धागोलगायत छन् । गत साउनमा नेपालले  १ अर्ब ११ करोड ७५ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार