बैंकले अतिरिक्त पूँजी राख्नु नपर्ने

काठमाडौं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षमा ‘काउन्टरसाइक्लिकल बफर’ अनुसार थप पूँजी कायम गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार निर्देशन जारी गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत रहने जनाएको छ । राष्ट्र बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा यस्तो बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेकामा केन्द्रीय बैंकले चालु आवको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम गरेको हो ।

साथै २०८४ साल असार मसान्तसम्ममा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । जसमा यसअघि एक करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकामा संशोधन गरी दुई करोड कायम गरिएको छ ।

यसबाट लघु, घरेलु तथा साना एवम् मझौला उद्यमका क्षेत्रमा थप कर्जा प्रवाह भइ आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार