सञ्चार मन्त्रीको गृह जिल्लामा मोबाइल नेटवर्कले राम्रोसँग काम गर्दैन, नेटवर्क खोज्न डाँडातिर धाउने पर्ने बाध्यतामा स्थानीय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको गृह जिल्ला लमजुङमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीय नेटवर्क खोज्न डाँडातिर धाउने पर्ने बाध्यता रहेका छन् । लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । क्व्होलासोथर गाउँपालिकाअन्तर्गत वडा नं ३ का घलेगाउँ, बङ्गुम, खगुम, फुल्म्रौ, वडा नं ५ स्थित सानो सिङ्दी र ठूलो सिङ्दी क्षेत्रका स्थानीयलाई यस्तो समस्या भएको हो ।

वडा नं ५ का अध्यक्ष तथा तल्लो सिङ्दीका स्थानीय गीतबहादुर गुरुङले यहाँ टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । आफूले पनि कार्यालयको काम परेमा घरबाट पाँच/दश मिनेट हिँडेर चौतारी डाँडामा पुगेर फोन गर्नु परिरहेको उनले दु:खेसो पोखे ‘‘दिउँसोको समयमा हिँडेर त्यहाँ गए पनि रातिको समयमा आकस्मिक कामपर्दा आफन्तलाई फोन गर्न समस्या हुन्छ”, उनले भने, ‘‘वडामा मोबाइलको टावर छैन, वडा नं ६ पसगाउँमा राखिएको नेपाल टेलिकमको टावरले यहाँ राम्रोसँग काम गर्दैन । वडा कार्यालयभित्र मोबाइल फोन राम्रोसँग नटिप्नेदेखि वाइफाइसमेत नचल्ने समस्या छ ।”

नेपाल टेलिकम लमजुङ शाखा कार्यालयमा पसगाउँमा टावर क्षमता थपेर वा सिङ्दीमा टावर राखेर समस्या समाधान गर्नेबारे ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको वडाध्यक्ष गुरुङले बताए । ‘‘स्थानीय टेलिकम कार्यालयलाई मात्रै होइन यहाँको समस्याबारे जानकारी गराइ टावर राख्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत जानकारी गराएका थियौँ तर पनि समस्या समाधान भएको छैन”, उनले भने ।

ठूलो सिङ्दीका स्थानीय तथा वडा महिला सदस्य वर्तामाया गुरुङले फोन गर्नु पर्दा घरबाहिर निस्कनुपर्ने बाध्यता रहेको सुनाए । ‘‘यहाँ कुनै आकस्मिक घटना, दुर्घटना भएमा वा कसैलाई केही खबर गर्नुपरेमा निकै समस्या हुने गरेको छ”, उनले भने ।

वडा दलित महिला सदस्य पार्वती सुनार विकले पनि वडाको बङ्गुम गाउँमा सबैभन्दा बढी समस्या रहेको जानकारी दिए । उनले भने, ‘‘घलेगाउँमा मोबाइलमा टावर देखाउँछ तर राम्रोसँग आवाज नै सुनिदैन, तलतलका गाउँमा त झ्न बढी समस्या हुने नै भयो”, उनले भने, ‘‘नेपाल टेलिकमको टावर राख्ने कुरा भइरहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको गृह पालिका पनि रहेकाले अब समस्या समाधान हुने आशा छ ।”

नेपाल टेलिकम ९दूर सञ्चार० कार्यालय लमजुङका प्रमुख किरण पौडेलले सबै ठाउँमा टावर राख्न नसकिएको र भौगौलिक कारणले पनि फोन नलाग्ने गरेको बताए । उनले समस्या रहेका ठाउँ पहिचान गरी टावर थप्न सम्बन्धित निकायमा जानकारी गराइएको बताए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार