नेपालमा ५८ देशको लागानी, ११.८ प्रतिशतले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदनमा यस्तो देखिएको हो।

नेपालमा आर्थिक वर्ष २०७९/८० मा कुल प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षसम्म नेपालमा कुल २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।

केन्द्रिय बैंकले प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमाप्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारेको हो।

२०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

नेपालमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भारतको रहेको छ। कुल प्रत्यक्ष वैदेशिक लगानी मध्ये भारतको हिस्सा ३५ प्रतिशत छ। भारतबाट १ खर्ब ३ अर्ब ४५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भएको छ।

प्रत्यक्ष वैदेशिक लगानीको आधारमा अर्को छिमेकी मुलुक चीन रहेको छ। ३५ अर्ब ४६ करोड (१२ प्रतिशत) रहेको छ।

आयरल्याण्डबाट २२ अर्ब ६२ करोड, (७.७ प्रतिशत), अष्ट्रेलियाबाट १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत रहेको देखिन्छ । त्यसपछि क्रमश: गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल (Return on Equity) करिब ११.६१ प्रतिशत रहेको पाइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार