SKIP THIS

NCELL

एन्फा महिला लिगको उद्घाटन आज, कोशी प्रदेश वालिङ नगरपालिकाले उद्घाटन खेल खेल्ने

काठमाडौं । कोशी प्रदेश र वालिङ नगरपालिकाले आईतवारदेखि शुरू हुने एन्फा महिला लिगको उद्घाटन खेलमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा) ले शनिवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै लिगको तयारी पूरा भएको जानकारी दिएको हो । वालिङ र कोशी प्रदेशबीचको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नै हुने भएको छ । कोशीले छनोट चरण पार गरे एन्फा लिग खेल्न लागेको हो । एन्फाले प्रतियोगिताको उद्घाटन खेलमा निशुल्क प्रवेश दिने भएको छ । लिगमा तीन विभागीयसहित कुल १० टोलीले प्रतिष्पर्धा गर्दैछन् । विभागीय टोली त्रिभूवन आर्मी फुटबल क्लब, एपिएफ, नेपाल पुलिस क्लवका साथै ‘ए’ डिभिजन क्लव संकटा, बाग्मती युथ क्लव, दुई स्थानीय निकाय वालिङ्ग नगरपालिका र चन्द्रपुर नगरपालिका, तथा सुदूरपश्चिम र कर्णाली प्रदेशले चुनौती प्रश्तुत गर्नेछन् ।
कोशी, सुदूरपश्चिम र कर्णाली एन्फा महिला लिग छनोटमा शिर्ष तीनमा रहँदै एन्फा लिगका लागि छनोट भएका टोली हुन् । १० टिमबीच सिंगल राउण्ड रोविनको आधारमा ४५ खेल हुनेछन् । यसपछि यहाँबाट उत्कृष्ट पाँच टोली छानिने छन् र ती टोलीबीच डबल राउण्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुनेछन् । सुपर लिगबाट पनि उत्कृष्ट चार टोलीबीच क्वालिफायर र इलिमिनेटर गरी चार खेल हुने एन्फाले जनाएको छ । यसबीच एन्फाले यो लिगभर ६९ खेल हुने उल्लेख गरेको छ । शनिवारको खेल भने दशरथ रंगशालामा गर्ने योजनामा रहेको एन्फाले जनाएको छ ।
उद्घाटनबाहेक लिगका खेलमा टिकट मूल्य एक सय रूपैयाँ राखिएको छ । लिग विजेताले १० लाख, उपविजेताले पाँच लाख, उत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टिमले नगद एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका प्लेयर अफ दी म्याचले नगद पाँच हजार रुपैयाँ पाउने एन्फाले उल्लेख गरेको छ ।

यो लिगका लागि अनुमानि दुई करोड २४ लाख, ६८ हजार ६ सय ९८ रुपैयाँ खर्च हुने एन्फाको अनुमान छ । लिगमा सहभागी अधिकांश टोलीले वर्षाका कारण राम्रोसँग तयारी गर्न नपाएको बताएका छन् ।
कोशी प्रदेशका श्याम मानन्धरले लिग हुनेबारे अनिश्चित भएकाले पाँच दिन मात्र तयारी गरे पनि उपाधि जित्ने लक्ष्यसहित आएको बताए । उनले आफ्नो टोली  नेपालको उमेरसमूहबाट खेलिसकेको खेलाडी रहेको उल्लेख गरे । आफ्ना तीन खेलाडी हाल भुटानबाट लिग खेलिरहेकाले केही खेलपछि मात्र उनीहरू टोलीमा जोडिने प्रशिक्षक मानन्धरको भनाइ छ । उनका टोलीका महत्वपूर्ण सदस्य खुस्मा राई, जेनिफर रानामगर र गोलकिपर शुसीला चौधरी भुटानमा छन् । साथै आफ्नो टोलीले तीन भारतीय खेलाडी पनि अनुबन्ध गरेको उनले बताए ।

कप्तान सिमरन राईले छोटो तयारी भए पनि राम्रो प्रदर्शन गर्ने बताइन् ।

वालिङ नगरपालिका प्रशिक्षक दिलिप थापाले पनि लामो समयदेखि टिमसँगै तयारी गर्न नपाए पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए । यो टोलीमा तीन जना विदेश खेलाडी छन् । युगान्डाको यु–२३ टोलीमा रहेकी एक खेलाडीसहित तीन जनाले वालिङबाट लिग खेल्न लागेका हुन् ।

संकटाका प्रशिक्षक रविन्द्र सिलाकारले मैदान अभावका कारणले फुटसल मैदानकै तयारीबाट गरेर उत्रिएको बताए । कुल ६८ जना खेलाडीबाट २२ जना छनोट गरिएको उल्लेख गर्दै उनले टिम सेट हुन समय लाग्ने उल्लेख गरे । आफ्नो टोलीमा दुई जना सेनेगलका खेलाडी, घाना र नाइजेरियाका समान एक जना खेलाडी जोडिने उनको भनाइ छ ।

पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले पनि वर्षाका कारण प्रभावकारी तयारी हुन नसकेको बताए । एपिएफका प्रशिक्षक जिबेश पान्डेले केही समय अगाडि मात्र एसियन च्याम्पियन्स लिग खेलेको र तयारी पनि राम्रो भएको बताए ।

—न्युज एजेन्सी नेपाल

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार