नाडा अटो शोमा काइवी ब्राण्डका तीन मोडल, विशेषता यस्तो

काठमाडौं । काठमाडौंको भुकृटी मण्डमा जारी नाडा अटो शो २०२४ मा विद्युती सवारी साधनको उपस्थिति बाक्लो रहेको छ। यस्तोमा नेपाली अटो क्षेत्रका दुई प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इ–मोबिलिटी र गोल्क्षा अग्रनाइजेसन अन्तर्गतको जीओ अटोमोबाईल्सको सहकार्यमा भित्रिएको ‘काइवी’ ब्रान्ड अटो शोको प्रमुख आकर्षणको रुपमा रहेको छ।

अटो शोमा काइवी ब्राण्डका तीन मोडलका इलेक्ट्रिक कार प्रदर्शनीमा राखिएको छ। इन्ट्रिलेभलमा इक्वीट–०२ र इक्वीट–०४ तथा एसयूभीमा एक्स३ प्रो ईभी रहेको छ।

उपभोक्तालाई उत्कृष्ट र किफायती इलेक्ट्रिक मोबिलिटी प्रदान गर्ने उद्देश्यले दुई व्यवसायीक घराले संयुक्त रुपमा काइवी ब्राण्ड नेपालमा बिक्री वितरण गरेको काइवी शोरुम भाटभटेनीका जुनियर सेल्स म्यानेजर मिनेस स्थापित बताउँछन्।

‘नेपालमा इलेक्ट्रिक सवारी प्रति चासो र रुची बढ्दो क्रममा छ। आईसी जस्तो ईभीमा विविधता छैन। हामीले उपभोक्ताको माग र आवश्यकता अनुसारको ईभी ल्याएका छौं। आधुनिक र अत्याधुनिक फिचर युक्त सिटी कार नेपाली बजारमा कम छ,’ स्थापितले भने।

इक्वीट–०२ र इक्वीट–०४ ले शहरी उपभोक्ताको माग सम्बोधन गर्छ भने एक्स३ प्रो ईभी ठूलो गाडी चढ्न रुचाउनेका लागि भएको उनी बताउँछन्।

नाडा शोका लागि विशेष रुपमा काइवीका ईभीहरु सुरुवाती मूल्यमा उपलब्ध गराइएको छ। यसका साथै अतिरिक्त ४० हजार रुपैयाँ नगद छुट, एक वर्षको पूर्ण बीमा, ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी छ। ६ वर्षको अवधिमा लागि १८ वटा नि:शुल्क सर्भिसिङ उपलब्ध छ।

इक्वीट–०२

इक्वीटी–०२ दुई भेरियन्टमा उपलब्ध छ। २०० किलोमिटर रेञ्जको मूल्य १९ लाख ९६ हजार रुपैयाँ र ३०० किलोमिटर रेञ्जको मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

इक्वीट–०२ मा सीएटीएलको २८.०८ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री रहेको छ। यसको अधिकतम टर्क ११० एनएम छ। सुरक्षाका लागि एयरब्याग, एबीएस एन्ट्री लक ब्रेकिङ सिस्टम, इबीडी ब्रेक फोर्स डिस्ट्रिब्यूसन सिस्टम, कारको ढोका बन्द नभएको रिभाइन्डर, ३६० प्यानरोमिक इमेज लगायत छ। इन्फोटेनमेन्टका लागि १०.२५ इन्चको ठूलो एलसीडी टच स्क्रिन दिइएको छ।

इक्वीट–०४

इक्वीट–०४ को मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। इक्वीट–०४ मा सीएटीएलको २८.०८ किलोवाट आवरको लिथियम फोस्फेट ब्याट्रीले ३०१ किलोमिटर रेञ्ज प्रदान गर्छ। इक्वीट–०४ को अधिकतम पावर ४० किलोवाट, अधिकतम टर्क ११० एनएम, अधिकतम स्पिड १०० किलोमिटर प्रति घण्टा रहेको छ।

सुरक्षाका लागि एबीएस, ईबीडी, एएस्आर, टीसीएस, टीआरसी, इएसस, इएसपी, डीसीएस रहेको छ। यस्तै अटो होल्ड, फ्रन्ड डबल एयर ब्याग, डोर ओपन वारनिङ लगायत रहेको छ।

फास्ट चार्जिङको मद्दतबाट आधा घण्टामा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ भने स्लो चार्जरबाट ७ घण्टा लाग्ने कम्पनीले जानकारी दिएको छ।

एक्स३ प्रो ईभी

काइवी एक्स३ प्रो ईभी इलेक्ट्रिक एसयूभी हो। यो दुई भेरियन्ट डिलक्स र फ्ल्यागसिपमा उपलब्ध छ। यसको सुरुवाती मूल्य ४६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यसमा रहेको ५३.६ किलोवाट आवर ब्याट्रीले ३७० किलोमिटर रेञ्ज प्रदान गर्छ। एक्स३ प्रो ईभीको अधिकतम पावर १२० किलोवाट, ग्राउण्ड क्लियरेन्स १८३ एमएम छ। यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार