नास आईटीले दोश्रो वार्षिक साधारण सभा सम्पन्न, ओर्किड इन्टरनेशनल कलेज सस्टेनेबिलिटी पार्टनर

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी)ले काठमाडौंको होटल सोल्टीमा आफ्नो दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा ५० भन्दा माथि सदस्य कम्पनी प्रतिनिधिहरू, बोर्ड सदस्यहरू र प्रमुख सरोकारवालाहरूको उपस्थिति थियो। सभामा गत वर्षका गतिविधिहरू र उपलब्धिहरूको समीक्षा गर्नुको साथसाथै संस्थाका भावी योजनाहरूको बारेमा छलफल भएको थियो।

टेकक्राफ्टका कार्यकारी निर्देशक सन्तोष कोइरालालाई अध्यक्षको रूपमा नियुक्त गरिएको छ। ई.के. सोलुसन्सका सीईओ गौरव राज पाण्डे उपाध्यक्षको रूपमा कार्यभार सम्हाल्नेछन् भने गोक्यो ल्याब्सका सह-संस्थापक अभय पौडेल कोषाध्यक्षको भूमिकामा रहनेछन्। लगप्वाइन्टका राष्ट्र निर्देशक दिपेन चापागाईं महासचिव हुनेछन्। कार्यकारी समितिमा अम्निल टेक्नोलोजिजकी सीओओ अलिशा श्रेष्ठ, एमिनेंस वेजका एमडी नारायण कोइराला, लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज विजयानन्द, बी.आई.सी. टेक्नोलोजिजकी सह-संस्थापक प्रार्थना साख: र निवर्तमान अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठ रहने छन्।

संस्थापक अध्यक्ष रिचन श्रेष्ठले नवनिर्वाचित अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गरे। नास आईटीको अध्यक्षको रूपमा आफ्नो भूमिका सम्हाल्दै सन्तोष कोइरालाले नेपाललाई विश्वव्यापी टेक हबको रूपमा स्थापित गर्ने नास आईटीको दृष्टिकोणलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी आईटी श्रोतहरूको अधिकतम उपयोग, बजार पहुँचको विस्तार र उद्योगको वृद्धिलाई समर्थन गर्न केन्द्रित हुने छौं। हामी जनशक्ति विकासमा लगानी गर्नेछौं, घरेलु आईटी समाधानहरूलाई प्रवर्द्धन गर्नेछौं र अन्तर्राष्ट्रिय विस्तारलाई सहज बनाउनेछौं। यसले आईटी उद्योगमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ र नेपाललाई लाभान्वित गर्नेछ।”

यस नयाँ नेतृत्वको मातहतमा नास आईटीले आफ्नो वृद्धिविस्तार जारी राख्ने र नेपालमा आईटी उद्योगको विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। गत वर्षमा संस्थाले एसिया प्यासिफिक आईसीटी एलायन्स (एपिक्ता) मा सामेल हुने र लन्डन टेक विकमा नेपालको आईटी क्षमताहरू प्रदर्शन गर्ने जस्ता महत्वपूर्ण माइलस्टोनहरू प्राप्त गरेको थियो। नास आईटीले भविष्यमा पनि नवीनता अभिवृद्धि गर्ने र देशको आईटी क्षेत्रको वृद्धिलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवीनता, उद्यमशीलता, सहकार्यलाई प्रोत्साहित गर्दै सदस्यहरूलाई विश्वव्यापी बजारमा सफल बनाउन अवसरहरू सिर्जना गर्नेछ। नास आईटीले सबै सदस्य र साझेदारहरूप्रति निरन्तर समर्थनका लागि हार्दिक आभार व्यक्त गरेको छ।

नास आईटीले वार्षिक साधारण सभा पछिको कार्यक्रममा ओर्किड इन्टरनेशनल कलेजसँग समझौता ज्ञापन पत्र (MOU) मा हस्ताक्षर गरेको छ। यस सहकार्यले नास आईटीको दिगो विकास कोषलाई बलियो बनाउनेछ। नेपाललाई विश्वव्यापी प्रविधि हबको रूपमा चिनाउने लक्ष्यलाई ओर्किड इन्टरनेशनल कलेजले समर्थन गरेको छ।

दिगो विकास कोष नेपालको प्रविधि परिदृश्यमा नवीनता, अनुसन्धान र विकासलाई समर्थन गर्ने नास आईटीको दीर्घकालीन वित्तीय दिगोपन सुनिश्चित गर्न डिजाइन गरिएको एक महत्वपूर्ण पहल हो। दिगो साझेदारको रूपमा ओर्किड इन्टरनेशनल कलेजले उद्योगबीचको सहकार्यलाई समर्थन गर्न र प्रविधि ज्ञान प्रदान गर्न नास आईटीसँग मिलेर काम गर्नेछ। यस साझेदारीले नेपालको आइसीटी इकोसिस्टममा योगदान पुर्‍याउनेछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार