वित्तीय संस्था माथिको आक्रमण प्रति चार संगठनकाे आपत्ति

काठमाडौं । बैंक तथा वित्तीय संस्था माथिको आक्रमण प्रति छाता संगठनहरुले आपत्ति जनाएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ भदौ १६ गते संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था माथिको आक्रमण प्रति आपत्ति जनाएका हुन् ।

‘विगत केही समयदेखी केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुरयाउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौं । विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनी लगायतका निन्दनीय कार्यहरु भएको विज्ञप्तिमा उल्लेख छ।

लघुवित्त क्षेत्रलाई अझ व्यवस्थित गर्नका लागि नेपाल सरकारबाट गठित कार्यदलमा लघुवित्त विरुद्धको संघर्ष समितिको तर्फबाट समेत प्राप्त सुझाव अनुसार नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक कदमहरु चालिरहेको वर्तमान स्थितिमा पनि कथित लघुवित्त विरुद्ध संघर्ष समितिको नामबाट पुन: भदौ ११ गतेका दिन तथा त्यस पछिका दिनहरुमा विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेका ९ वटा लघुवित्त वित्तीय संस्थाका १७ वटा शाखा कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लगेर नष्ट गर्ने जस्ता अराजक गतिविधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पुर्याउने जस्ता क्रियाकलापबाट लघुवित्त क्षेत्रमा पुन: ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ्ग क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार