झण्डै २५ अर्ब सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान वितरण

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानस्वरुप झण्डै २५ अर्ब रुपैयाँ वितरण गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थालाई सहूलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानस्वरुप २४ अर्ब ८९ करोड ९ लाख ५९ हजार रुपैयाँ प्रदान गरेको बताएको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जास्वरुप १ खर्ब ८७ अर्ब ६९ करोड ६७ लाख ८७ हजार रुपैयाँ वितरण गरेको थियो । उक्त कर्जा १ लाख २० हजार २७४ जनालाई वितरण गरिएको हो । समीक्षा अवधिमा वाणिज्य बैंकले १ खर्ब ६० अर्ब ४९ करोड ९२ लाख ६२ हजार रुपैयाँ, विकास बैंकले २४ अर्ब ३० करोड २९ लाख १३ हजार रुपैयाँ र वित्त कम्पनीले २ अर्ब ८२ करोड ७५ लाख ३२ हजार रुपैयाँ सहूलियतपूर्ण कर्जा वितरण गरेको हो । वाणिज्य बैंकले १ लाख १ हजार ९७० जना, विकास बैंकले १६ हजार ५३६ जना र वित्त कम्पनीले १ हजार ६७० जनालाई उक्त रकम वितरण गरेको हो ।

बैंक तथा वित्तीय कम्पनीले व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्पन पीडितहरुको निजी आवास निर्माण, कपडा उद्योग सञ्चालन, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिने तालिम र युवावर्ग स्वरोजगार शीर्षकमा सहूलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ ।

विनियोजित रकम मध्ये बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २६ अर्ब ८१ करोड ८९ लाख ८१ हजार रुपैयाँ सहूलियतपूर्ण कर्जा वितरण गर्न बाँकी रहेको छ । जसमा वाणिज्य बैंकहरुले १ खर्ब १० अर्ब ११ करोड ३३ लाख ५१ हजार रुपैयाँ, विकास बैंकले १४ अर्ब ६६ करोड ८७ लाख ७१ हजार रुपैयाँ र वित्त कम्पनीहरुले १ अर्ब ९९ करोड ४७ लाख ४४ हजार रुपैयाँ सहूलियतपूर्ण कर्जा वितरण गर्न बाँकी रहेको छ । सरकारले विभिन्न क्षेत्रमा आर्थिक रुपमा सबल बनाउनका लागि सहूलियतपूर्ण कर्जा वितरण गर्दै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार