काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच उम्मेदवार सूचीकरण गरिएको छ । सिफारिस समितिको सचिवालयले मंगलबार सूचीकरणमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
उम्मेदवारहरूमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगाना छन् ।
सूचीकरणमा पाँच उम्मेदवारको रणनीति र कार्ययोजना, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपछि सचिवालयले तीन जना छनोट गरेर मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले तीन मध्ये एकलाई बोर्डको सीईओको रुपमा नियुक्त गर्नेछ।
ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए । काफ्ले तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड (हाल वैदेशिक रोजगार बोर्ड) का पूर्वकार्यकारी निर्देशक हुन् ।
अर्का उम्मेदवार ढुंगाना नेपाल धितोपत्र बोर्डका अध्यक्ष थिए । सीईओ पदका लागि ८ जनाले आवेदन दिएका थिए । उम्मेदवार सूचीकरणमा परेका ५ जनासहित गोरखाका कृष्ण थापा, रूपन्देहीका झविन्द्र खत्री र काठमाडौंस्थित चन्द्रागिरिका रविन्द्र दवाडीले पनि आवेदन दिएका थिए ।