प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारण सभा असोज २३ गते, लाभांश र हकप्रद शेयर जारी गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातौँ वार्षिक साधारण सभा असोज २३ गते गर्ने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको भदौ २३ गते आइतबार बसेको बैठकले आउँदो असोज २३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यसैगरी सोही सभाले नियामकले निर्धारण गरेको चुक्तापुँजी पुर्याउन बोनस शेयर जारीपछि कायम चुक्तापुँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित साविक महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० को २०८० असार मसान्तको तथा प्रभु महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गर्नेछ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले स्वतन्त्र सञ्चालक नियुक्तिदेखि प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायहरुले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशनमा दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार