कार्यकारी निर्देशक नियुक्त नगरी बाहिरिने योजनामा बीमा प्राधिकरणका अध्यक्ष सिलवाल

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त रहेको ३ महिनाभन्दा बढी भइसक्यो । बीमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक राजुरमण पौडेलले जेठ १२ गते अनिवार्य अवकाश पाएसँगै प्राधिकरणले हालसम्म नयाँ कार्यकारी निर्देशक पाउन सकेको छैन ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको कारण प्राधिकरण कार्यकारी निर्देशक बिहीन हुनु परेको कर्मचारीहरु बताउँछन् । पौडेलको अवकाश पछि प्राधिकरणलाई कार्यकारी निर्देशक बिहीन बनाउन सिलवालले एक वर्ष अघि नै रणनीति बनाएको कर्मचारीहरुको आरोप छ ।

आव २०८०/८१ को अन्तिम समयमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेल, निर्देशक दिनेशकुमार लाल, उपनिर्देशक कुसुम शर्मा र सहायक निर्देशक सुनिताकुमारी कार्की ३० वर्षे सेवा अवधि पुरा गरेर अनिवार्य अवकाश पाउँदै थिए । तर यसका बाबजुत अध्यक्ष सिलवालले यी पद पूर्ति गर्नका लागि कुनै अग्रसर देखाएनन् । सिलवालले गत वर्ष २०८०/८१ लोगसेवा आयोगमा पद पूर्तिका लागि आवदेन दिँदा २०८० पुससम्म रिक्त रहने पदका लागि मात्र सिफारिस गरेका थिए । लोकसेवा आयोगले पनि सोही अनुसार पद पूर्तिका लागि परीक्षा सञ्चालन गर्यो ।

२०७७ माघ १९ गते चार वर्षका लागि प्राधिकरणका अध्यक्ष भएका सिलवालको कार्यकाल यही माघ १८ गतेदेखि सकिँदै छ । यस्तोमा उनी प्राधिकरणको दोस्रो शक्तिशाली पद अन्य कर्मचारीलाई नदिइ बिदा लिने मुडमा छन् ।

‘अध्यक्ष ज्यू आफ्नो कार्यकालको संघार तिर हुनु हुन्छ । कार्यकारी निर्देशकका लागि उहाँ (सिलवाल)ले विश्वास गर्न सक्ने व्यक्ति भेट्नु भएको छैन् । यस्तोमा नयाँ कार्यकारी नियुक्त नगर्ने पक्षमा उहाँ हुनु हुन्छ । त्यसैले कार्यकारी निर्देशक नियुक्तमा उहाँले धेरै चासो देखाउनु भएको छैन,’ प्राधिकरणका एक कर्मचारी भन्छन् ।

प्राधिकारणले कार्यकारी निर्देशक लगायत केही कर्मचारी थप गर्न गत असारमा लोकसेवसँग अनुमति माग गरेको थियो । उक्त प्रस्तावले आयोगबाट स्वीकृति भने पाउन सकेन ।

कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया लोक सेवा आयोगले स्वीकृति नदिएका कारण रोकिएको प्राधिकरणका सहप्रवक्ता पुनम ज्ञवाली श्रेष्ठ बताउँछिन् । लोकसेवा आयोगले एक आर्थिक वर्षमा एक पटक मात्रै परीक्षाका लागि स्वीकृति दिने भएकाले कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा केही समय ढिलाई भएको उनले जानकारी दिइन् ।

‘नयाँ आर्थिक वर्ष सुरु भएको छ । कार्यसम्पादन मूल्यांकनको फर्म अहिले सबैले भरिरहेका छन् । कार्यसम्पादन मूल्यांकन भए पछि लोकसेवाले पनि सहमति पनि विश्वास छ। त्यस पछि बल्ल नियुक्ति प्रक्रिया सुरु हुन्छ,’ उनले भनिन् ।

‘अध्यक्ष सिलवाले आफ्नो कार्यकालको बाँकी अवधिमा नयाँ कार्यकारी निर्देशक नियुक्त गर्न चाहेको भए गत वर्ष नै खाली रहने पदका लागि लोकसेवा आयोगबाट स्वीकृति लिन सक्थे । तर उहाँले त्यो चाहानु भएको छैन । त्यसैले गत आवमा उहाँले रिक्त रहने पदका लागि लोकसेवाबाट स्वीकृति लिनु भएन,’ ती कर्मचारी भन्छन् ।

कार्यकारी निर्देशकको प्रतिस्पर्धामा को–को छन्

प्राधिकरणको कार्यकारी निर्देशक बन्न तीन जना निर्देशकबीच प्रतिस्पर्धा छ । प्राधिकरणको कर्मचारी विनियमावली अनुसार कार्यकारी निर्देशक बन्न कम्तीमा ५ वर्ष निर्देशक पदमा काम गरेको अनुभव हुनुपर्छ । महिला र समावेशीको हकमा भने ४ वर्षको अवधि प्रयाप्त हुन्छ ।

पौडेलले अवकाश पाउँदा प्राधिकरणका दुई निर्देशक कमलप्रसाद रेग्मी र पुजन ढुंगेल अधिकारी कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा थिए । रेग्मीले निर्देशकको रुपमा आठ वर्ष काम गरिसकेका छन् भने ढुंगेलको पाँच वर्ष पुरा भइसकेको थियो । अहिले प्रक्रिया लम्बिदा प्रतिस्पर्धामा अर्को निर्देशक सुशीलदेव सुवेदी थपिएका छन् । गत साउनदेखि निर्देशकको रुपमा सुवेदीको पाँच वर्ष पुरा भइसकेको छ । ढुंगेल र सुवेदी एकै समयमा निर्देशकमा बढुवा भएका हुन् ।

यदि कार्यकारी निर्देशक नियुक्त गर्ने पक्षमा सिलवाल रहेको भए उनले पौडेलको अवकाश लगत्तै रेग्मी वा ढुंगेलमध्ये एकलाई नियुक्त गर्न सक्थे । रेग्मी र सिलवालबीचको सम्बन्ध सुमधुर नरहेको प्राधिकरणका कर्मचारीहरु बताउँछन् । रेग्मीलाई कार्यकारी निर्देशक हुनबाट रोक्न उनले पुस पछि रक्त रहने पदका लागि लोकसेवा आयोगबाट सिफारिस नलिएको ती कर्मचारी बताउँछन् । ढुंगेल महिला भएकाले उनीसँग काम गर्न असहज हुने सिलवालको बुझाइ छ । भर्खर कार्यकारी निर्देशकका लागि योग्य भएका सुवेदी भने सिलवालका विश्वास पात्र हुन् । सुवेदीले सफलता पूर्वक कार्यकारी निर्देशक चलाउन सक्छन् भन्नेमा सिलवाल पूर्ण रुपमा विश्वस्त छैनन् । त्यसैले पनि सिलवाल कार्यकारी निर्देशक नियुक्त नगरी प्राधिकरणबाट सहज बहिर्गमनको प्रतिक्षामा छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार