राष्ट्रिय व्यवसायिक पहलको अठारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (पहल) को अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको अत्यन्त ज्वलन्त मुद्दाहरूमा पहल ले प्रशंसनीय कार्यहरू गर्दै आइरहेको र भविष्यमा थप सशक्त भएर अगाडि बढ्न सुझाव व्यक्त गरेका थिए । उनले उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्याको पहिचान गरी मुलुकको आर्थिक अवस्थालाई सहि दिशामा ल्याउन आजको प्रमुख चुनौती रहेको यसका लागि व्यवसायी र सरकार बिच राष्ट्रिय वहसको आवश्यकता औंल्याउँदै यसमा अग्रसरता लिन पहललाई आग्रह गरे। अर्थतन्त्रको आधारको रुपमा रहेको निजी क्षेत्रका हरेक समस्या समाधानको लागि सरकार सदैव प्रतिबद्ध रहेको बताउँदै निजी क्षेत्र र सरकार बिच विश्वासको वातावरण सिर्जना गरी एकता र सहकार्यमा जोड दिनुपर्ने बताए व्यावसायिक सामाजिक जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय व्यवसायिक पहल लगायत अन्य स‌घ संस्थासँग सुधारका लागि सल्लाह र सुझाव लिइरहेको प्रकाश पारेका थिए ।

कार्यक्रममा अध्यक्ष कुशकुमार जोशीले सरकार र निजी क्षेत्रले सम्बोधन गर्न नसकेको क्षेत्रमा कार्य गरिरहेको जानकारी गराउँदै व्यावसायिक सामाजिक जिम्मेवारी, आचार संहिताको निर्माण, व्यावसायिक वातावरणको विकास, मानव अधिकारका क्षेत्रमा सरकार र दातृ निकायसँगको सहकार्यमा मुलुकभर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताए । निजी क्षेत्रले व्यावसायकि सामाजिक जिम्मेवारी तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यवसायलाई सम्मान गर्ने अभ्यासको  थालनी गरेको बताउँदै आगामी दिनमा यस किसिमका सकारात्मक कार्यलाई प्राथमिकता साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष पद्म ज्योतिले सशस्त्र द्वन्द्वको कहालीलाग्दो अवस्थामा शान्ति पुनर्स्थापनाका लागि पहलको उदय भएको इतिहास साझा गरे र नेपालमा दीगो शान्तिका लागि निजी क्षेत्रका प्रयासलाई निरन्तरता दिने प्रकाश पारेका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ,नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल घरेलु तथा साना उद्योगका अध्यक्ष उमेश प्रसाद सिंह लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार