कर्मचारी सञ्चय कोषको  ६३ औ वार्षिकोत्सव सम्पन्न, आगामी दिनमा लगानी विविधिकरण गर्ने प्रतिवद्दता

काठमाडौं । कर्मचारी सञ्चय कोषको  ६३ औ वार्षिकोत्सव मनाएको छ  । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पसाद पौडेलले कर्मचारी सञ्चय कोषले नेपाल सरकारले मानव जीवनचक्रको आधारमा सञ्चालित सामाजिक सुरक्षाका योजनामा सरकारलाई गरिरहेको सहयोगको लागि धन्यवाद दिदै कोषलाई औसत गतिमा सिमित नभई सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषत भन्दा पनि अधिकतम प्रतिफल दिने किसिमले काम गर्न आग्रह गरेका छन्। उनले सञ्चयकर्ताहरुको दायरा विस्तार गर्ने र आकर्षण वढाउने किसिमका कार्याक्रमलाई प्राथमिकता दिनुपर्ने वताए ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव तथा कोष सञ्चालक समिति अध्यक्ष दिनेश कुमार घिमिरेले कोषको वित्तीय स्रोत परिचालन गर्ने क्षमताको सह्राहना गर्दै कोषको वित्तीय सक्षमताको आधारमा सञ्चयकर्ताहरुलाई अधिकतम लाभ दिन किसिमले काम गर्न अनुरोध गरे ।

कोषका पूर्व प्रशासकहरु रमेश कुमार भट्टराई र शंशारभक्त श्रेष्ठले कर्मचारी सञ्चय कोषको लगानी विविधिकरणको माध्यमबाट जलविद्युत र सञ्चयकर्ता आवसको क्षेत्रमा गरेको लगानीको प्रशंशा गर्दै थप नयाँ लगानीका क्षेत्र खोज्नुपर्ने आवश्कता औल्याउएका थिए ।

कोषको ६३ औ वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय सामाजिक सुरक्षण संस्था (क्ष्क्क्ब्) का अध्यक्ष डा. मोहम्मद अजमानले भिडियो मार्फत शुभकामना सन्देश  पठाएका थिए ।

कोषका प्रशासक जितेन्द्र धितालले कोषको समग्र अवस्थाको जानकारी गराउँदै कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्  । उनले  सञ्चयकर्ता तथा योगदानकर्ताको योगदान रकमको कुशल व्यवस्थापन तथा परिचालन, प्राप्त प्रतिफलको न्यायोचित वितरण र सेवा प्रवाहमा गुणात्मक सुधार गर्दै सेवाग्राहीकोे हित र सन्तुष्टिप्रति कोष परिवार सदैव क्रियाशील रहि रहने प्रतिवद्धता व्यक्त  गरे ।

कार्यक्रममा कोषको सेवामा १५ वर्ष अवधि पुरा गर्ने १४ जना कर्मचारीहरुलाई दीर्घ सेवापदक वितरण गरिएको थियो । साथै  विभिन्न अतिरिक्त क्रियाकलापका विजेता कर्मचारीहरुलाई पदक तथा पुरष्कार वितरण गरियो । उक्त कार्यक्रममा २०८० सालको एसईई परिक्षामा सफल भएका कोषका कर्मचारीका छोरा-छोरीलाई पुरष्कृत गरिएको थियो ।

कोषले निजामती, जंगी र प्रहरी सेवातर्फका कर्मचारीहरुका साथै शिक्षक, सार्वजनिक संस्थान तथा निजी प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ५ लाख ७५ हजार भन्दा बढी सञ्चयकर्ताको करिव रु. ६ खर्ब बराबरको रकम व्यवस्थापन गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको छ । स्थापना कालदेखि सञ्चय कोषको मात्र व्यवस्थापन गर्दै आएको कर्मचारी सञ्चय कोषले २०७६ साल यता निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम योगदानमा आधारित निवृत्तभरण कोषको समेत व्यवस्थापन गर्दै आइरहेको छ ।

कोषले योगदानकर्ताहरुको सेवाकालिन आवश्यकता पुरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी जस्ता ६ किसिमका सापटी सुविधाहरुलाई सहुलियत दरमा प्रदान गर्दै आएको छ । सामाजिक सुरक्षा सुविधा तर्फ प्रसुती तथा शिशु स्याहार, काजक्रिया अनुदान, दुर्घटना क्षतिपूर्ति योजना तथा सञ्चयकर्ता तथा निजको श्रीमान वा श्रीमतीको लागि औषधोपचार सुविधा लगायत ४ किसिमका सुविधाहरु सञ्चयकर्ताहरुलाई निःशुल्क रुपमा प्रवाह गर्दै आइरहेको छ ।

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुबाट संकलन गरिएको दीर्घकालीन रकमलाई सुरक्षित, प्रतिफलयुक्त एवम् दिगो लगानी गरी प्राप्त प्रतिफलको न्यायोचित वितरणबाट सञ्चयकर्तालाई सन्तुष्टि दिने मूल उद्देश्य राखी लगानी व्यवस्थापन गर्दै आइरहेको छ । कोषको संकलित स्रोत मध्ये करिव ९७ प्रतिशत अर्थात ५ खर्ब ५१ अर्ब रकम विभिन्न क्षेत्रमा लगानी गरिएको छ । कोषले विभिन्न क्षेत्रको लगानीवाट प्राप्त प्रतिफललाई सञ्चयकर्ताको हितमा लगाउदै आएकोमा आर्थिक वर्ष २०७९-८० मा प्राप्त प्रतिफलवाट सञ्चयकर्ताको जम्मा भएको कोष रकममा १.१० प्रतिशतका दरले मुनाफा वितरण गरिएको छ ।

कोषको दीर्घकालीन वित्तीय स्रोतलाई आवास, विद्युत विकास तथा पूर्वाधार क्षेत्रका ठूला एवम् वित्तीय रुपले सम्भाव्य परियोजनाहरुमा लगानी गर्ने नीतिलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार