एनसेलको फोरजी ग्राहक घटे, एनटीसीको बढ्यो

काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा २ करोड २२ लाख भन्दा बढीले फोरजी प्रयोग गर्ने गरेको देखिन्छ । २०८१ असार मसान्तसम्म नेपालमा २ करोड २२ लाख ३२ हजार ४१६ फोरजी प्रयोगकर्ता छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा फोरजी प्रयोगकर्ता २ करोड १ लाख ३२ हजार ९६१ रहेका थिए ।

एक वर्षको अवधिमा नेपालमा फोरजी प्रयोगकर्ता २० लाख ९९ हजार ४५५ अर्थात १०.४२ प्रतिशतले बढेको छ ।

हाल सञ्चालनमा रहेका दुई मोबाइल अपरेटर मध्ये नेपाल टेलिकमको फोरजी ग्राहक धेरै रहेको छ । नेपाल टेलिकमको फोरजी ग्राहक एक करोड ५२ लाख ८१ हजार ९३७ छन् ।

एनसेलको फोरजी ग्राहक ६९ लाख ५० हजार ४७९ छन् ।

एक वर्षको अवधिमा नेपाल टेलिकमले फोरजी ग्राहक बढाउँदा एनसेलको भनेको घटेको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

अघिल्लो आवको अन्त्यमा नेपाल टेलिकमको फोरजी ग्राहक एक करोड ३० लाख १५ हजार ३९५ थियो । समीक्षा अवधिमा नेपाल टेलिकमको फोरजी ग्राहक २२ लाख ६६ हजार ५४२ अर्थात १७.४१ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको अन्त्यमा एनसलेको फोरजी ग्राहक ७१ लाख १७ हजार ५६६ थियो । समीक्षा अवधिमा एनसेलको फोरजी ग्राहक एक लाख ६७ हजार ८७ अर्थात २.३४ प्रतिशतले घटेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार