काठमाडौं । बैंक तथा वित्तीय संस्थाले घरजग्गामा कर्जा प्रवाहमा कमी गरे सँगै यो व्यवसायमा मन्दी आएको छ जसले गर्दा राजस्व संकलन समेत प्रभावित बन्न पुगेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालयका अनुसार भदौ महिनामा ३२ हजार ७ सय ९८ वटा घरजग्गा किनबेच भएको छ । साउन महिनाको तुलनामा भदौमा महिनामा उक्त कारोबारमा कमी आएको हो । साउन महिनामा ४३ हजार बढीको कारोबार भएको थियो ।
भदौ महिनामा ललितपुर कार्यालयले ३० करोड ६१ लाख ५८ हजार ६ सय ४० रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै धेरै राजस्व संकलन गर्नेमा डिल्लीबजार, काठमाडौँ परेको छ । डिल्लीबजारले उक्त समयावधिमा २७ करोड १३ लाख ८५ हजार ८ सय ६७ रुपैयाँ राजस्व उठाएको छ ।
भदौ महिनामा कलंकी काठमाडौँले २६ करोड ८१ लाख ३१ हजार १ सय २५ रुपैयाँ, भक्तपुर मालपोत कार्यालयले २४ करोड ७५ लाख १२ हजार ८८० रुपैयाँ, कास्की कार्यालयले १२ करोड ९२ लाख १२ हजार ४२२ रुपैयाँ र चाहविल, काठमाडौँले १२ करोड ३७ लाख २९ हजार ९३ रुपैयाँ रकम राजस्व उठाएको छ।
भदौ महिनामा ३८ सय ८८ वटा नामसारीको भएको छ भने ९ हजार २ सय ७२ वटा संशोधनको काम भएको छ । त्यस्तै, २३ सय ८८ वटा हालसाबिक भएको छ । यसैगरी ३६ हजार ८ सय १९ वटा जग्गा रोक्का हुँदा २५ हजार २ सय ६१ वटा जग्गा फुकुवा भएका छन् । यसरी पाँच शीर्षकमा घरजग्गा सम्बन्धी कारोबार भएको हो । मालपोत कार्यालयहरूले साउनमा जम्मा ४३ हजार ८ सय ३५ वटा जग्गाको लिखत पारित गरेको थियो ।