१ महिनामा १०४ प्रतिशत बढ्यो व्यापार घाटा

Garima_Business-Loan3

काठमाडौं । नेपालको व्यापार घाटा एक महिनाको अवधिमा १०४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको भदौसम्म मुलुकको व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ रहेको छ । जुन साउनको तुलनामा १०४ प्रतिशतले बढी हो । साउन महिनामा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो । उच्च व्यापार घाटा हुनुमा वा बढ्नुमा निर्यात कम र आयात उच्च हुनु हो ।

चालु आर्थिक वर्षको भदौसम्म आयात २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको भदौसम्म आयात २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा निर्यात भने घटेको छ । चालु आर्थिक वर्षको भदौ सम्म निर्यात २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको भदौसम्म निर्यात २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ रहेको थियो । आर्थिक विकासको मेरुदण्ड मानिने युवा माथि सरकारले लगानी परिचालन गर्न नसक्दा यसको असर व्यापारमा समेत परेको छ । पछिल्लो पाँच वर्षमा व्यापार घाटा घट्नको सट्टा निरन्तर बढ्दै जाने नियति देखिन्छ । उच्च आयात र न्यून निर्यातका कारण व्यापार घाटा दिनप्रति दिन बढ्दै गएको विज्ञहरु बताउछन् ।

समीक्षा अवधिमा वैदेशिक व्यापार १ प्रतिशतले बढेको छ । साउन र भदौमा कुल वैदेशिक व्यापार २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापार २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ थियो ।

१४ अर्बको पेट्रोलियम पदार्थ आयात
चालू आर्थिक वर्षको भदौसम्म सबैभन्दा बढी परिणाममा पेट्रोलियम पदार्थको आयात गरिएको छ । समीक्षा अवधिमा १४ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोल ६ अर्ब ८९ करोड ५५ लाख रुपैयाँ, डिजेल ५ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास १ अर्ब ७५ करोड ७९ लाख रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोल इन्जिनका सवारीसाधन (एक हजार सीसीदेखि १५ सय सीसी क्षमतको) १ अर्ब ५९ करोड ८० लाख रुपैयाँ, विद्युतीय सवारीसाधन १ अर्ब ५४ करोड ३१ लाख रुपैयाँ, मोबाइल १ अर्ब २५ करोड ८ लाख रुपैयाँ, मोटरसाइकलका पाटपुर्जा १ अर्ब ५४ करोड ३१ लाख ७० हजार रुपैयाँ, कच्चा सूर्यमूखी तेल १ अर्ब १३ करोड ६५ लाख रुपैयाँ, फलामजन्य सामग्री ९६ करोड ५२ लाख ९६ हजार रुपैयाँबराबरको आयात गरिएको छ ।

करिब २ अर्बको गलैँचा निर्यात
चालू आर्थिक वर्षको भदौसम्म करिब २ अर्ब रुपैयाँको गलैँचा निर्यात गरिएको छ । समीक्षा अवधिमा गलैँचा १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ, चिया १ अर्ब १४ करोड २४ लाख ३२ हजार रुपैयाँ, उन १ अर्ब ७ करोड १० लाख रुपैयाँ, जुस ९२ करोड ७१ लाख ९९ हजार रुपैयाँ, र्यान ८५ करोड ६१ लाख २६ हजार रुपैयाँ, स्टिल तथा फलामजन्य सामग्री ७९ करोड ८३ लाख ५ हजार रुपैयाँ, आयल केक ७३ करोड ९३ लाख र रुपैयाँ र जुटजन्य सामग्री ७१ करोड ६० लाख ८२ हजार रुपैयाँ र पस्मिना ६२ करोड २० लाख ६५ हजार रुपैयाँबराबरको निर्यात भएको छ ।

सबैभन्दा बढी व्यापार घाटा भारतसँग
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको भदौसम्म सबैभन्दा बढी व्यापार घाटा नेपालले भारत, चीन र युक्रेनसँग बेहोरेको छ । समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै भारतसँग १ खर्ब ४४ अर्ब ६६ करोड रुपैयाँ, चीनसँग ५१ अर्ब ८० करोड ३९ लाख लाख रुपैयाँ युक्रेनसँग ४ अर्ब ७१ करोड ८ लाख रुपैयाँ, कतारसँग ४ अर्ब २ करोड ८१ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । समीक्षा अवधिमा नेपालले अष्ट्रेलियासँग ३ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ, मलेसियासँग २ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ, इन्डोनेसियासँग २ अर्ब ५८ करोड २ लाख रुपैयाँ र बहराइनसँग २ अर्ब ३० करोड ७९ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार