कम्प्युटर प्रणालीमा भार पर्ने भन्दै राजस्व विभागले करदाताको सुविधा खोस्यो

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाताको सुविधा खोस्ने निर्णय लिएको छ । विभागले आयकर ऐन २०५८ को दफा ९८ ले दिएको सुविधा खोस्ने गरी आय विवरण बुझाउने म्याद थप नगर्ने निर्णयउ गरेको छ ।

ऐनको दफा ९८ मा आय विवरण पेस गर्न विभागले एकै पटक वा पटक–पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने छ भन्ने व्यवस्था छ ।

तर, वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र कारोबार शून्य भएका निकायका हकमा आय विवरण बुझाउने म्याद नथप्ने निर्णय विभागले ४ असोजमा गरेको हो ।

यस्तोमा अब वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र कारोबार शून्य भएका निकायले असोज मसान्त भित्रमा आयकर दाखिला गर्नु पर्ने हुन्छ ।

विभागको कम्प्युटर प्रणाली (Integrated Tax System) मा भार पर्ने भएकाले यस्तो निर्णय लिनु परेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागले सोमबार प्रकाशित गरेको एक सूचनामा वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र कारोबार शून्य भएका निकायका सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने, वार्षिक २५ करोडसम्म कारोबार भएका निकाय र अन्य करदाताका सम्बन्धमा मंसिर मसान्तसम्म मात्रै म्याद थप हुने र वार्षिक २५ करोडभन्दा बढी कारोबार हुने करदाताका सम्बन्धमा २० पुससम्म मात्रै म्याद थप हुने निर्णय भएको उल्लेख छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार