विदेशी विनिमय सञ्चितिमा २ प्रतिशतले वृद्धि, १३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको छ । राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्षको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१  साउन मसान्तमा २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ साउन मसान्तमा २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको बताएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वद्धि भई २ खर्ब ८ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । २०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन । २०८१ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम एवम सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा २०८० साउन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ८५.२४ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८१ साउन मसान्तमा ४.३ प्रतिशतले कमी आई अमेरिकी डलर ८१.५६ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८० साउन मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १ हजार ८९६.३५ रहेकोमा २०८१ साउन मसान्तमा ३१.१ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २ हजार ४८५.८० पुगेको छ ।
विनिमय दर
२०८१ असार मसान्तको तुलनामा २०८१ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.० प्रतिशतले अवमूल्यन भएको थियो । २०८१ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३४ रुपैयाँ २ पैसा पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १३३ रुपैयाँ ३६ पैसा रहेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार